नवौ राष्ट्रिय खेलकुद, २०७९ : नौ स्वर्ण पदकसहित सुदूरपश्चिम छैठौ स्थानमा

भारोत्तोलनमा विकासले राष्ट्रिय रेकर्ड तोडे, पदक जित्ने आयुस सबैभन्दा कान्छा खेलाडी
अनुमोदन समाचार
धनगढी / पोखरामा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा नौ स्वर्णसहित सुदूरपश्चिम प्रदेश अंकतालिकामा छैठौ स्थानमा उक्लिएको छ । मंगलबारसम्मको खेलमा सुदूरपश्चिम प्रदेशले नौ स्वर्ण, दुई रजत र ११ काँश्यसहित २२ पदक प्राप्त गरिसकेको छ ।
जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भारोत्तोलनतर्फ सुदूरपश्चिम प्रदेशका विकास पन्तले राष्ट्रिय रेकर्ड तोड्दै स्वर्ण पदक जितेका छन् । ८९ केजी तौल समुहका उनले एक सय ४७ केजी तौल उठाएर नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका छन् । यसअघि राष्ट्रिय रेकर्ड एक सय ४६ केजी रहेको छ ।
सुदूरपश्चिम प्रदेशकै आयुस चौधरीले पनि रेकर्ड बनाएका छन् । धनगढीका नौ वर्षीय आयुश चौधरीले उसु थाउलोतर्फ काँश्य पदक जितेर अहिलेसम्म नवौ राष्ट्रिय खेलकुदमा पदक जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

मङ्गलबार भएको खेलहरुमध्ये महिला कुस्तीमा सुदूरपश्चिम प्रदेशले पाँच स्वर्ण पदक जितेको छ । पोखराबाट सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहले टेलिफोनमा दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेशबाट स्वर्ण पदक जित्ने खेलाडीमा महिला कुस्तीतर्फ ५० किलो तौल समूहका दमन्ती बोहरा, ५३ किलो तौल समूहमा मनिशा सिंह, ५५ किलो तौल समूहमा संगीता धामी, ५९ किलो तौल समूहमा कोमल खत्री र ७२ किलो तौल समूहमा हेमा भट्ट रहेका छन् ।
त्यस्तै, भारोत्तोलनमा सुदूरपश्चिम प्रदेशबाट स्वर्ण पदक जित्नेमा ७३ केजी तौल समुहमा हेमन्त पाल रहेका छन् ।
कराते खेलमा ५० केजी तौल समुहबाट आनन्द कामीले स्वर्ण पदक जितेका छन् भने फिनसिङमा नरेन्द्र शाहीले स्वर्ण पदक जितेका छन् ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलमा एक सय ३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । मंगलबारसम्म त्रिभूवन आर्मी क्लव अंकतालिकाको शिर्ष स्थानमा रहेको छ ।




