१८ बैशाख २०८१, मंगलवार

विदेशी पर्यटक आगमन नाममात्र



धनगढी । सुदूरपश्चिममा अझैं पनि विदेशी पर्यटक आगमन नाम मात्रको रहेको छ । सुुदूूरपश्चिमको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको पटकपटक बहस, छलफल भए पनि यस क्षेत्रमा घुमघामका लागि तेस्रो मुलुकका पर्यटक आगमनमा कुनै सुधार आउन सकेको छैन ।
कैलाली अध्यागमन कार्यालयका अनुसार पछिल्लो सात वर्षको अवधिमा यस नाका भएर तीन सय जना जति विदेशी (भारतबाहेक) पर्यटक मात्र नेपाल (सुदूरपश्चिम) प्रवेश गरेका छन् ।
सन् २०१० देखि २०१७ को अप्रिलसम्ममा कैलाली त्रिनगर नाका हुँदै तेस्रो मुलुकबाट दुई सय ९५ पर्यटक मात्रै आएका थिए ।
सुदूरपश्चिममा सन् २०१० मा ३२, २०११ मा ४४, २०१२ मा ४०, २०१३ मा २९, २०१४ मा ३५, २०१५ मा ४५ र २०१६ मा ५२ जना तेस्रो मुलुकका पर्यटकको आगमन भएको कार्यालयले जानकारी दिएको छ । त्यस्तै, सन् २०१७ को अप्रिलसम्ममा १८ जना विदेशी पर्यटक आएका थिए ।
कार्यालयका अनुसार सन् २०१० मा ४२, २०११ मा ३७, २०१२ मा ३८, २०१३ मा १९, २०१४ मा ३३, २०१५ मा ४० र २०१६ मा ५४ विदेशी पर्यटक यो अध्यागमन नाका हुँदै बाहिर गएका थिए । सन् २०१७ को अप्रिल महिनासम्म १६ जना विदेशी पर्यटक बाहिरिएका थिए ।
सुदूरपश्चिममा आन्तरिक पर्यटकहरू बढीजसो धनगढीको त्रिनगर नाकाभन्दा कञ्चनपुरको गड्डा चौकीबाट आउने गरेको अध्यागमन कार्यालयले जानकारी दिएको छ । गौरिफन्टा नाकाको स्तरोन्नती नहुनु, अस्थायी नाकाका रूपमा प्रयोग हुनु र भारतको दिल्लीदेखि गड्डाचौकी नाका नजिक पर्ने हुनाले सो नाकाबाट बढी पर्यटक भित्रिने गरेका छन् ।
यस क्षेत्रमा बाह्य पर्यटनको विकास गर्न यस क्षेत्रको पुर्वाधार विकासमा जोड दिनुपर्ने पर्यटन क्षेत्रमा काम गरिरहेका व्यक्तिहरूले बताएका छन् ।
सुदूरपश्चिमलाई आर्थिक समृद्धितर्फ डोर्‍याउन पर्यटन क्षेत्रको विकास जरुरी रहेको नाटाका सुदूरपश्चिम प्रमुख मायाप्रकाश भटट्ले बताए ।
उनले त्यसका लागि पर्यटन क्षेत्रमा पूर्वाधार निर्माणमा लगानी बढाउने पर्ने बताए । ‘यहाँ धेरै पर्यटन स्थल छन्, तर आधुनिक होटल, भरपर्दो यातायात सुविधा लगायतका पूर्वाधारको अभाव छ’ उनले प्राय: कोही पनि दु:खकष्ट भोग्नका लागि घुम्न नआउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार