भारतबाट आएका नेपालीलाई डोटीको बान्डुंग्रीसैनको सिद्धेश्वर माविमा राख्न स्थानीयको अबरोध
भारतबाट आएका नेपालीहरुका लागि डोटीको शिखर नगरपालिकाको बान्डुंग्रीसैनस्थित विद्यालयमा क्वारेन्टाईन स्थापना गर्न स्थानीय बासिन्दाले अवरोध सृजना गरेका छन् ।
क्वारेन्टाईनका लागि तयार गरिएको सिद्धेश्वर माविमा स्थानीय बासिन्दाले भारतबाट आएका एक बालक, दुई महिला सहित ७१ जना स्थानीयलाई राख्न नदिएको शिखर नगरपालिकाका मेयर सीताराम जोशीले बताए ।
स्थानीय बासिन्दाको अवरोध पछि उनीहरुलाई कहाँ राख्ने भनेर अन्यौल भएको छ ।
अहिले उनीहरु बान्डुंग्रीसैनमा छन् । भोकभोकै रहेका उनीहरुलाई शिखर नगरपालिकाले नास्ता खुवाएको छ ।
डोटीको दीपायल सिलगढी नगरपालिका अन्तर्गत रहेका व्यक्तिहरुलाई सेती सभा हलमा राखिने भएको छ ।भारतबाट भित्रिने ९ सय १४ जना मध्ये २ सय ३३ जना डोटीका बासिन्दा रहेका थिए ।
जसमध्ये बडिकेदार गाउँपालिकाका ५१ जनालाई बीपीनगरस्थित केदार ज्योती पूञ्ज बहुमुखी क्याम्पसमा राखिएको छ ।
दीपायल सिलगढी नगरपालिका र के.आई.सिंह गाउँपालिकाका बासिन्दालाई सेती सभा हलमा राखिने भएको छ ।अमरगढी नगरपालिकाका मेयर बिशेश्वर प्रसाद ओझाले भारतबाट आएका नेपालीहरुलाई डडेल्धुरा बहुमुखी क्याम्पसमा क्वारेन्टाईन स्थापना गरी राख्ने तयारी गरेको बताए ।
सदरमुकाममा गन्यापधुरा गाउँपालिकाका समेत ३० जना छन् । गन्यापधुरा गाउँपालिकाले आफ्नो गाउँपालिकाका व्यक्तिलाई लैजाने बताएको छ ।