१८ बैशाख २०८१, मंगलवार

मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता (भिडियो सहित)



धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तरगत विभिन्न खेलहरु धनगढीका विभिन्न खेल मैदानमा जारी रहेका छन् । फुटबल र क्रिकेटका खेलहरु तीन दिनदेखि भईरहँदा आजदेखि व्याटमिन्टन र भलिबलका खेलहरु पनि सुरु भएका छन् ।

महिला क्रिकेटमा सुदुरपश्चिम फाईनलमा

संघीय प्रहरी कार्यालयको खेल मैदानमा भईरहेका महिला क्रिकेट अन्तर्गतको आज भएको खेल जित्दै सुदुरपश्चिम फाईनल प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्ने क्रममा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई २१० रनको फराकिलो अन्तरले हराएको हो । यसअघि सुदुरपश्चिमले कर्णाली प्रदेशलाई पनि २२७ रनको फराकिलो अन्तरले हराएको थियो । टस जितेर पहिले व्याटिङ गर्दै सुदुरपश्चिमले २० ओभरमा ४ विकेट क्षतिमा २४८ रन बनायो । यो पारीमा सुदुरपश्चिमकी कविता कुँवरले १०१ रनको शतकीय पारी खेलिन् । उनले ५८ बलको सामना गरिन् । यस्तै विन्दु रावलले ६१ बलमा ७९ रन बनाईन् । गण्डकी प्रदेशका लागि एलिसा लामिछानेले दुई विकेट लिईन् । प्रतिउत्तरमा गण्डकी प्रदेश १५ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै ३८ रनमा समेटियो । झिनमाया थापाले १३ रन बनाउनु बाहेक अरुले रन हान्न सकेनन् । सुदुरपश्चिमका लागि कविता जोशीले ४ विकेट र कविता कुँवरले ३ विकेट लिईन् । फाईनल पुग्ने अर्को टोलीको टुङगो भोली हुने लिग चरणका अन्तिम खेलले लगाउनेछ ।

पुरुष क्रिकेटमा प्रदेश नम्बर १ सेमिफाईनलमा प्रवेश

प्रथम अन्तर प्रदेश स्तरीय मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत पुरुषमा प्रदेश नम्बर १ सेमिफाईनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर १ ले प्रदेश नम्बर ३ लाई ७ विकेटले हराएको हो । यसअघि भएको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई ५ रनले पराजित गरेको थियो। फाप्ला मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गर्दै प्रदेश नम्बर ३ ले १६ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ९१ रन बनायो । सो पारीमा सम कंसाकारले ३६ रन बनाए । प्रदेश नम्बर १ का लागि दिपेन्द्र कण्डेल र पुष्प थापाले ३÷३ विकेट लिए ।
९२ रनको विजय लक्ष्य प्रदेश नम्बर १ ले १७ दशमलव ४ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो । प्रदेश नम्बर १ लाई जिताउन मिनाष थापाले ३८ रन र पुष्प थापाले ३६ रन बनाए । प्रदेश नम्बर ३ का लागि नन्दन यादव र अनिल पौडेलले एक एक विकेट लिए । समुह ए मा प्रदेश १ सेमिफाईनल पुग्दा यो समुहबाट सेमिफाईनल र फाईनल पुग्ने टीमको टुङगो भने भोली हुने लिग चरणको गण्डकी प्रदेश र प्रदेश नम्बर ३ बीच हुने खेलपछि लाग्नेछ ।
पुरुष क्रिकेटमा समुह बि मा सुदुरपश्चिम कर्णाली प्रदेश र प्रदेश नम्बर २ रहेकोमा सुदुरपश्चिम र प्रदेश नम्बर २ सेमिफाईनल पुगेका छन् । दुवै प्रदेश बीच भोली हुने लिग चरणको अन्तिम खेलले फाईनल पुग्ने टीमको टुङगो लाग्नेछ । महिला र पुरुष क्रिकेटमा दुवै समुहका विजेता स्वतः फाईनल पुग्नेछन भने उपविजेता तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष फुटबलको सेमिफाईनल समिकरण पुरा

धनगढी रंगशालामा भईरहेको पुरुष फुटबल प्रतियोगिता अन्तर्गतको सेमिफाईनल समिकरण पुरा भएको छ । आज सम्पन्न भएका लिग चरणहरुका खेलहरुको नतिजापछि सेमिफाईनल समिरकण पुरा भएको हो । समुह ए बाट विजेता बन्दै प्रदेश नम्बर २ र उपविजेता बन्दै प्रदेश नम्बर १ अन्तिम चारमा पुगेका छन् । फुलबारीमको खेल मैदानमा आज भएको प्रदेश नम्बर १ र २ बीचको खेल ३–३ को बराबरीमा सकिएको हो । दुवै टोलीको समान समान ७ अंक भएपनि गोल अन्तरले समुह विजेता र उपविजेताको टुङगो लागेको हो । प्रदेश नम्बर १ का लागि राम तामाङ सन्तोष तामाङ र दिपेन्द्र घिसिङले गोल गरे । प्रदेश २ का लागि सनिल लामाले दुई गोल गरे । एक गोल प्रदेश १ ले आत्मघाती उपहार पाएको हो ।
यस्तै समुह बी बाट आज भएको खेल जित्दै सुदुरपश्चिम पनि उपविजेता भएर सेमिफाईनल पुगेको छ । धनगढी रंगशालामा सुदुरपश्चिमले प्रदेश नम्बर ३ लाई ३–० ले हराएको हो । सानदार जितमा चेतन कठायतले दुई र जीवन चौधरीले एक गोल गरे । यो समुहबाट एक जित र एक बराबरी गर्दै चार अंक सहित समुह विजेता बनेर कर्णाली प्रदेश सेमिफाईनल पुगेको छ । सुदुरपश्चिम प्रदेश कर्णाली प्रदेशसँग यसअघि १–० ले हारेको थियो । धनगढी रंगशालामा भोली हुने सेमिफाईनलमा सुदुरपश्चिम र प्रदेश नम्बर २ तथा प्रदेश नम्बर १ र कर्णाली प्रदेश फाईनल प्रवेशका लागि खेल्नेछन् ।

भलिबलमा लिग चरणका ६ खेल सम्पन्न

पुरुष तथा महिला भलिबलमा लिग चरणका ६ खेल सम्पन्न भएका छन् । आजदेखि सुरु भएको पुरुष र महिला भलिबलका तीन तीन खेल भएका हुन् । महिला भलिबलमा प्रदेश नम्बर ५ ले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । प्रदेश नम्बर ३ र गण्डकी प्रदेश बीचको खेलमा प्रदेश नम्बर ३, ३–१ ले विजयी भयो । प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई ३–१ को सेटले हरायो । पुरुष भलिबलमा पनि सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ३–१ ले हरायो । गण्डकी प्रदेश र प्रदेश ३ बीचको खेलमा गण्डकी प्रदेश ३–१ को सेटले विजयी भयो । प्रदेश नम्बर ५ ले प्रदेश ३ लाई ३–० को सेटमा हरायो ।

व्याटमिन्टनमा पनि प्रि क्वाटरफाईनलका खेल सम्पन्न

महिला तथा पुरुष तर्फका यु–१९ र यु–१७ उमेर समुहका प्रि क्वाटरफाईनलका खेल सम्पन्न भएका छन् । यु– १९ पुरुष तर्फ प्रदेश ५ का सरोज अधिकारीले कर्णाली प्रदेशका सुजित कार्कीलाई हराए । सुप प्रदेशका प्रकाश चन्दले गण्डकी प्रदेशका प्रकाश मगरलाई किनारा लगाए । सुप प्रदेशका अंिकत चौधरीले प्रदेश २ का सुनिल चौधरीलाई किनारा लगाए । प्रदेश ५ का विनोद पाण्डेयले प्रदेश ३ का अलिस थापालाई हराए । सुपका देशराज रानाले प्रदेश २ का विवेक मण्डललाई हराए । सुपका योगेश खड्काले प्रदेश २ का भोज गुरुङलाई पराजित गरे । जित हात पारेका सवै पुरुष खेलाडीहरुले क्वाटरफाईनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् ।


यु–१९ र यु– १७ महिला तर्फका पनि प्रि क्वाटरफाईनलका खेल सम्पन्न भएका छन् । यु–१९ महिला तर्फ कर्णाली प्रदेशकी सामना भट्टराईले सुदुरपश्चिमकी विमला ओझालाई हराईन् । कर्णाली प्रदेशकी पार्वती रोकायाले घाईते भएर खेल त्यागेपछि गण्डकी प्रदेशकी विनिता सुनार अघिल्लो चरणमा पुगिन् । प्रदेश ५ की सुष्मा श्रेष्ठले प्रदेश २ की शसि खत्रीलाई हराईन् । ती खेलमा जित हात पारेका महिला खेलाडीहरु पनि क्वाटरफाईनल पुगेका छन् । यु–१७ महिला तर्फ पनि कर्णाली प्रदेशकी पुष शाहीले सुप प्रदेशकी दिव्यानी वमलाई पराजित गरिन् । सुप प्रदेशकी पोयुम तामाङले प्रदेश ५ की सरु बराललाई किनारा लगाईन् । कर्णाली प्रदेशकी अग्रिमा भण्डारीले सुप प्रदेशकी जसुना खत्रीलाई हराईन् । विजयी भएका यो उमेर समुहका महिला खेलाडी पनि अन्तिम आठमा पुगेका छन् ।

 

सम्बन्धित समाचार

खेलकुदलाई मौलिक हकको रूपमा स्वीकार्नु पर्छ : सभामुख महारा (फोटो फिचरसहित)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार