विधायन समितिको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको प्रदेश मामिला तथा विधायन समितिको आइतबारको बैठक गणपुरक संख्या नपुगेर तेस्रो पटक स्थगित भएको छ ।
लगातार तेस्रो पटक बैठक स्थगित भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलले विधायन समितिका सदस्य प्रदेश सांसदहरुलाई उपस्थित हुन ह्वीप जारी गरेको छ । विधायन समितिका सभापति नेपालु चौधरीले प्रमुख सचेतक तारा लामातामाङले विधायन समितिका सदस्य रहेका नेकपाका प्रदेश सांसद्हरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको बताए ।
प्रदेश सभाको बैठक सोमबार दिउँसो बोलाइएकाले विधायन समितिले सोमबार विहान ९ बजे नै विधायन समितिको बैठक बोलाएको छ । विधायन समितिले प्रदेश सभा संचालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दवाफार छलफल गर्ने र सो माथि प्रतिवेदन तयार गर्ने कार्य सूचि छ ।
तीन पटक बैठक बस्न आवश्यक गणपुरक संख्या नपुगेरै स्थगित भएपछि विधायन समितिले प्रदेश सभा संचालन सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दवाफार छलफल गरी प्रतिवेदन तयार गर्ने काम प्रभावित भएको छ ।
विधायन समितिमा रहेका ११ जना सासंद मध्ये कृष्णराज सुवेदी सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि हाल १० जना सदस्य छन् । ति मध्ये ५१ प्रतिशत अथवा ६ जना सासंद अनिवार्य उपस्थित भए मात्रै समितिको बैठक बस्न सक्छ ।
विधायन समितिका सदस्य रहेका सांसद् शान्ति नेपाली बझाङ, मालामति राना महेन्द्रनगर, उमावादी काठमाडौं, श्यामलाल राना मलामी गएको र अन्य सांसद्हरु पनि अन्यत्र रहेकाले कोरम नपुगेको विधायन समितिका सभापति चौधरीले बताए ।




