पत्रकार महासंघ, कैलालीको साधारण सभा : हिजोको मानसिकताले परिवर्तन संस्थागत हुन सक्दैन– मुख्यमन्त्री भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतको मानसिकता, चिन्तन तथा अभ्यासले अहिलेको परिवर्तनलाई संस्थागत गर्न नसक्ने बताएका छन् ।
“पुराना चिन्तन, मानसिकता तथा अभ्यासहरू अहिलेको परिवर्तन संस्थागत गर्न अवरोधका रूपमा रहेका छन्” नेपाल पत्रकार महासंघ, कैलालीको १० औं साधारण सभाको सोमबार धनगढीमा उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भने– “त्यसैले पत्रकार महासंघ, नागरिक समाज, बुद्धिजीवी सबैले मुलुकको पछिल्लो राजनीतिक परिवर्तनलाई संस्थागत गर्न समयानुकुल भूमिका निर्वाह गर्न अग्रसर हुनु आवश्यक छ ।”
मुख्यमन्त्री भट्टले थुप्रै चुनौति र समस्या हुँदाहुँदै पनि प्रदेश सरकार प्रतिपक्षलाई विश्वास र साथमा लिएर प्रदेशको तीब्र विकासका लागि प्रतिवद्ध रहेको दोहो¥याए ।
गोदावरी तेघरीमा प्रदेशको राजधानी राख्ने निर्णयको बचाउ गर्दै उनले नमुना राजधानी शहर बनाउने अठोटका साथ काम भइरहेको दावी गरे ।
साधारण सभा उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले प्रदेश शासनको सफलताका लागि अहिलेसम्म प्रतिपक्षीले संसदमा सरकारका हरेक निर्णयको खुला हृदयले समर्थन गरेको चर्चा गरे ।
उनले भने– “हामी (प्रतिपक्षी) ले प्रदेशको द्रुत विकासको अभिलाशासहित संसदमा सरकारका हरेक निर्णयमा समर्थन गर्दै आयौं । तर, सरकारले दुई तिहाईको दम्भमा एकलौटी रूपमा गलत ठाउ“मा प्रदेशको राजधानीको निर्णय ग¥यो ।”
प्रमुख प्रतिपक्षी नेता रावलले प्रदेश सरकार बनेको एक वर्ष पुग्न लाग्दा पनि जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्न नसकेको बताए । उनले भने– “प्रदेश सरकारले एक वर्ष खेर फाल्यो । अब सरकारले बामे सर्ने होइन, दौडिनु पर्दछ ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले संघीय, प्रदेश तथा स्थानीय सरकारलाई स्वतन्त्र प्रेसका विश्वव्यापी मूल्यमान्यताका आधारमा सञ्चार नीति तथा ऐनकानून बनाउन महासंघबाट निरन्तर दवाव दिनुपर्ने बताए । उनले स्वतन्त्र प्रेसका विश्वव्यापी मूल्यमान्यता, नेपालको संविधानको मर्म तथा अघिल्लो सञ्चार नीतिलाई आधार बनाएर तीनै तहको सञ्चार नीति बनाउन महासंघले निरन्तर खबरदारी गरिरहेको बताए ।
उपाध्यक्ष पोखरेलले पछिल्ला दिनमा सरकार सञ्चालकहरूमा आलोचना सहन नसक्ने प्रवृत्ति बढेको चर्चा गरे । उनले भने– “प्रत्येक सञ्चारकर्मीले आलोचनात्मक चेत सहितको पत्रकारिता मात्रै व्यावसायिक र विश्वसनीय हुन्छ भन्नेमा सधैं सजग हुनु आवश्यक छ ।”
सो अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले संघीय, प्रदेश र स्थानीय सरकारहरूलाई व्यवस्थित र ठिक ढंगले सञ्चालन गर्न मिडियाले अझ बढी प्रभावकारी र निष्पक्ष ढंगले भूमिका निर्वाह गर्न आग्रह गरे ।
नगर प्रमुख वडले सबैतिर नराम्रो मात्रै भएको छ भन्ने मानसिकतामा सुधार गरेर समाजमा सकारात्मक प्रभाव पार्ने गरी पत्रकारिता गर्न पनि आग्रह गरे ।
कार्यक्रम महासंघ, कैलालीका अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको थियो ।
साधारण सभा उद्घाटन कार्यक्रममा महासंघका केन्द्रीय सदस्य मीन बम र सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले पनि मन्तव्य व्यक्त गरेका थिए ।
महासंघ, कैलालीका उपाध्यक्ष टंक कुँवरले स्वागत गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गा देवकोटाले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन महासंघका जिल्ला सचिव मीन ठकुरी र सहसचिव श्रवण देउवाले गरेका थिए ।
साधारण सभामा महासंघका सचिव ठकुरीले महासंघको सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष हिमाल जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बाह्र जना पत्रकार सम्मानित
महासंघ, कैलालीले बाह्र जना पत्रकारहरूलाई सम्मान गरेको छ । महासंघको दर्शौ साधारण सभामा महासंघका पूर्व केन्द्रीय उपसभापति उमिदप्रसाद बागचन्द, पूर्व केन्द्रीय सदस्य करुणाकर पाण्डेय, पूर्व केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजकहरू मनमोहन स्वाँर, कर्ण शाह र प्रकाशबिक्रम शाह, पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्याल, पूर्व जिल्ला अध्यक्ष दीर्घराज उपाध्याय र भरत शाह, पूर्व जिल्ला उपाध्यक्ष भूवनेश्वर अधिकारी तथा पूर्व जिल्ला सल्लाहकार शिवराज भट्ट, पूर्व जिल्ला सचिव एकिन्द्र तिमिल्सिना र प्रेम चौधरीलाई सम्मान गरिएको थियो ।
मुख्यमन्त्री भट्टले उनीहरूलाई सम्मानपत्र वितरण गरेका थिए ।
व्यवसायिक चरित्र सुधारका लागि आह्वान
नेपाल पत्रकार महासंघ, कैलालीले व्यवसायिक चरित्र सुधारका लागि गम्भीर हुन सदस्यहरू तथा आम पत्रकारहरूमा आह्वान गरेको छ । पत्रकारिताबारे कहिलेकाही समाजबाट आउने गरेका नकारात्मक टिप्पणीहरूलाई ध्यानमा राखेर महासंघले महासंघका पदाधिकारी तथा सदस्य, साधारण सदस्य र पत्रकारितामा आवद्ध भएकाहरू सबैलाई आप्mनो व्यवसायिक चरित्र सुधारका लागि आव्हान गरेको छ ।
महासंघको सोमबार धनगढीमा भएको १० औं साधारण सभाले कुनै पनि कारणले विभिन्न कारणले पत्रकारितामा सक्रिय हुन नसकेका तथा गैरपत्रकारहरूलाई स्वेच्छिक रूपमा महासंघको सदस्यता त्याग्न वा सदस्यता नविकरण नराउन खुला अनुरोध गरेको छ ।
साधारण सभामा महासंघका सदस्यहरूले संगठन सुदृढीकरण तथा शुद्धीकरणका साथै पत्रकार आचारसंहिता पालनाको अवस्थाबारे व्यापक छलफल गर्दै मर्यादित, जिम्मेवार, स्वच्छ र स्वतन्त्र पत्रकारिताको विकासका लागि ठोस ढंगले अगाडि बढ्नुपर्ने सुझाव व्यक्त गरेका थिए ।




