६ पुष २०८१, शनिबार

चट्याङ परेर एक टोलका १७ जना घाइते



अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलाको तीन वटा घरमा परेको चट्याङले १७ जना घाइते भएका छन् ।
काटियाँ भन्ने ठाउँमा बुधबार बेलुकी एकै पटक तीन घरमा परेको चट्यांकले एकै टोलका १७ जना घाइते मध्येमा आठ जनाको अवस्था गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ ।
पुल्लेतोला निवासी ४० वर्षीया जयसरा कामी, ३५ वर्षीय धनबहादुर रावल, १६ वर्षीया बासु कामी, ४० वर्षीया धर्मा रावल, ३५ वर्षीया रामकला रावल र उनकै छोरी १२ वर्षीया धिर्गा रावल, ७९ वर्षीया दिर्केश रावल, २२ वर्षीया भावना सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले बताए ।
२२ वर्षीया धना रावल, ४५ वर्षीय टेकबहादुर बटाला, १८ वर्षीया सिर्जना बटाला, १९ वर्षीया धिर्जा बटाला, २५ वर्षीया भावना बटाला, २२ वर्षीया मनसरा कामी, २१ वर्षीया कमला कामी, १३ वर्षीया दिपु कामी, ५० वर्षकी मना कामी सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको सोही वडाको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । वडा अध्यक्ष गोविन्दबहादुर रावलले धेरैका हाटखुट्टा र शरीर नचलेको, टाउको र शरीरमा चोट रहेको बताए । उनल बासुकी आधारभूत विद्यालय नजिक परेको चट्याङको झिल्का नजिकै रहेका पाँच÷छ घरमा परेको बताए ।
धना र भावनाको घरको दक्षिणतिरको ढोकामा क्षति भएको छ भने गोरे कामीको एउटा गाइको मृत्यु हुनुका साथै घरको ढोकामा क्षति भएको अछाम प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बेलुकी परेको चट्याङले घाइते भएकी बान्नीगढी-जयगढ गाउँपालिका–५ कालिकामा मुक्तबहादुर रावलकी छोरी १४ वर्षीया राधिका रावलको जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार