“सूचनामा भूमि सुधारले छल गर्यो”
धनगढी । मुक्त कमैया पुनस्र्थापनाका लागि निकालिएको सूचनामा कैलाली भूमिसुधार कार्यालयले छल गरेको मुक्त कमैयाको अधिकारको क्षेत्रमा काम गर्ने संघसंस्थाले आरोप लगाएका छन् ।
मुक्त कमैया महिला विकास मञ्चले बिहीबार धनगढीमा आयोजना गरेको “मुक्त कमैयाको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सम्बन्धी नीति नियम र कार्यान्वयनको अवस्था” विषयक गोष्ठीमा मुक्त कमैया पुनस्र्थापना समितिका सदस्यहरुले भूमिसुधार कार्यालयले छल गरेर सूचना प्रकाशन गरेको दाबी गरे ।
मुक्त कमैया पुनस्र्थापना समिति कैलालीका सदस्य यज्ञराज चौधरीले पुनस्र्थापना भई घर निर्माण र काठ खरिदका लागि रकम लिन बाँकी मुक्त कमैयाहरुलाई सोका लागि बोलाउने सूचना निकाल्ने निर्णय भएकोमा भूमिसुधार कार्यालयले पुनस्र्थापना हुन बाँकी मुक्त कमैयाहरुलाई सम्पर्क गर्न ३५ दिने सूचना जारी गरेको बताए ।
जिल्ला भूमिसुधार कार्यालय कैलालीले कार्तिक १६ गते जग्गा खरिद, घर निर्माण खर्च वा काठ बापत रकम लिन बाकी मुक्त कमैयालाई अन्तिम पटक भन्दै ३५ दिने सूचना जारी गरेको थियो । सूचनामा सो अवधिभित्र सम्पर्क नगर्ने मुक्त कमैयालाई लगतबाट समेत हटाइने उल्लेख गरिएको थियो ।
सो सूचना धान बाली स्याहार्ने लगायतको कामको मौसम र तिहारको विदाको समय पारेर निकालेको हुनाले पनि मुक्त कमैयाहरुले सम्पर्कमा आउन नसकेको अगुवाहरुले बताए ।
स्थानीय पत्रिकामा निकालेको सूचनामा मुक्त कमैयाको पहुच नपुग्ने, कतिपयले पढ्न समेत नजान्ने भएकाले पनि मुक्त कमैयाहरुले थाहा नै नपाएर म्याद गुज्रिएको पुनस्र्थापना समितिकी सदस्य कौशिला चौधरीले बताइन् । उनले ती सूचना हुलाक मार्फत् स्थानीय तहमा पठाइएको र विदा परेको हुनाले ढिलो पुगेको बताइन् ।