बझाङको लेकाली भेगमा वर्षासँगै हिमपात
बझाङ । बझाङ जिल्लामा बुधबार राति पानी सँगै बिहीबार बिहान लेकाली भेगका हिमपात परेको छ । वर्षासँगै जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएसँगै जनजीवन कष्टकर बनेको छ । वर्षासँगै साईपाल गाउँपालिका, सुर्मा गाउँपालिका, छविसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र बुंगल नगरपालिकाको माथिल्लो भेगमा हिमपात भएको छ । हिमपातका कारण जिल्लाको लेकाली भेगमा बस्ने बासिन्दाहरूको दैनिकी कष्टकर बनेको छ ।
“हिमपातका कारण मान्छेहरू घरभित्र बाट बाहिर निस्कन सकेका छैनन् भने गाईगोरु वस्तुभाउहरूलाई समेत समस्या भएको छ” साईपाल गाउँपालिकाका जसवीर बोहराले भने, “लेकाली भेगमा भेडापालन गर्दै आएकाहरूलाई झन समस्या भएको छ, न चराउन पाएका छौं, नत पानी नै खुवाउन सकेका छौं, भोकले मर्ने भए ।” हिमपालका कारण जिल्ला नै सञ्चार बिहिन बन्न पुगेको छ । जिल्लामा सञ्चालित सबै एफएम स्टेशसनहरू बन्द भएका छन् ।
बुधबार वर्षा र हिमपात भएसँगै जिल्लामा सञ्चालित एफएमहरूमा जडान गरिएका सोलारमा चार्ज नहुँदा सञ्चार माध्यममा अवरोध भएको रेडियो खप्तड आवज स्टेसन म्यानेजर डिबी विष्टले बताए । हिमपातका कारण नेपाल टेलिकममा समेत समस्या उत्पन्न भएको नेपाल टेलिकम बझाङका कार्यालय प्रमुख बमबहादुर सिंहले बताए । यस्तै, लगातार परेको हिमपातका कारण जिल्लाका अधिकांश विद्यालयहरू समेत बन्द भएका छन् ।
हिमपातका कारण बुंगल नगरपालिकामा रहेको भुमेश्वरी आधारभूत विद्यालय, सुर्मादेवी, सुर्योदय, धुली निमावि धुली, धौलपुर प्रावि, लगायतका विद्यालय बन्द छन् । हिमपातका कारण विद्यालय बन्द भएको बुंगल नगरपालिकाका स्थानीय हिक्मतराज धामीले बताए ।
साईपाल गाउपालिका धुलीका वसन्तबहादुर बोहराले पाटनतिर बाक्लो हिउ परेको र गाउँमा समेत हिमपात सुरु भएको बताए ।
किसानलाई राहत
लामो समयसम्म वर्षा नहुँदा हिउदे बाली विग्रने चिन्तामा परेका यहाँंका किसानलाई वर्षाले राहत पु¥याएको छ ।
गतवर्षको जस्तै खडेरी पर्छकी भन्ने चिन्ता लागेको भए पनि अहिले देखि नै पानी पर्न थालेपछि आफूलाई राहत लागेको कृषक वीरबहादुर बहोराले भने यसले खेतीपाती सप्रिने आसा छ । वर्षा र हिमपातसँगै जिल्लामा जाडो पनि ह्वातै बढेको छ ।
हिउँ जमेको र जाडो बढन थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको छविस पाथीभेरा गाउँपालिका–७ का स्थानीय प्रकाश धामीले बताए ।