७ पुष २०८१, आईतवार

हिंसा अन्त्य गर्न कार्ययोजना तयार



धनगढी । निर्वाचित जनप्रतिनिधिहरुले लैंगिक हिंसा अन्त्य गर्नका लागि कार्ययोजना बनाएका छन् ।
सुदूरपश्चिम प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वयन समितिका प्रमुख, उपप्रमुख, प्रदेश तथा प्रतिनिधि सभाका सांसद्हरुले पाँच वटा समूहमा समूह कार्य गरी सो कार्ययोजना बनाएका हुन् ।

कार्ययाेजना बनाउँदै कैलालीका जनप्रतिनिहरू ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मंगलबार र बुधबार धनगढीमा आयोजना गरेको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सम्बन्धी कार्याशाला गोष्ठीमा जनप्रतिनिधिहरुले सुदूरपश्चिम प्रदेशमा रहेका महिला हिंसाका घटनाहरु पहिचान गरी त्यसलाई निर्मुल गर्न कार्ययोजना बनाएका छन् । ति कार्ययोजनाहरु मध्ये कतिपय लागु भएर कार्यक्रम सञ्चालन भइरहेको र केही आउदो वर्षमा लागु गरिने गाउँपालिका महासंघका सुदूरपश्चिम प्रदेशका अध्यक्ष दुर्गादत्त जोशीले बताए ।
उनले स्थानीय तहहरुले महिला लक्षित कार्यक्रमहरु बनाएर कार्यान्वयन गरिरहेको भएपनि स्थानीय तहमा महिला तथा बालबालिका शाखामा कर्मचारी नहुँदा काम गर्न कठिन भएको बताए ।
नगरपालिका महासंघ सुदूरपश्चिम प्रदेशकी सदस्य तथा कृष्णपुर नगरपालिकाकी उपमेयर रमिता रानाले कानुनको अभावमा लैंगिक हिंसा रोक्न नसकिने बताएकी छन् । कानुन भएको विषयमा नागरिकहरुलाई न्याय दिन सजिलो भएपनि कानुन नबनेको विषय सुल्झाउन कठिन रहेको बताइन् ।

कार्ययाेजना प्रस्तुत गर्दै अछामको टुर्माखाँड गाउँपालिकाका अध्यक्ष ।

सांसद् उमादेवी वादीले महिलाका कुरा अझै पनि नसुनिएको बताइन् । उनले महिलालाई आफ्नो कुरा सरकारलाई सुनाउने गरी सशक्त बनाउन स्थानीय तहहरुले काम गर्नुपर्ने बताइन् ।
मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले कार्यशालाबाट आएका कार्ययोजनाहरु केन्द्रीय तहबाट लागु गर्नका लागि मन्त्रालयले काम गर्ने बताए । उनले सुझावलाई प्रतिवेदनका रुपमा मन्त्रालयमा पेश गरी आउँदा दिनका नीति तथा कार्यक्रम तह गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार