हाम्रो नेतृत्व कार्यक्रम लागु
धनगढी । निर्वाचित महिला जनप्रतिनिधिहरुको सहनेतृत्व प्रबद्र्धन कार्यक्रम (हाम्रो नेतृत्व) कैलाली र डोटीको पाँच वटा स्थानीय तहमा सञ्चालन भएको छ ।
युएनओमन र सर्च फर कमन ग्राउनको सहकार्यमा जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालले हाम्रो नेतृत्व कार्यक्रम लागु गरेको हो । फाया नेपालका हाम्रो नेतृत्व कार्यक्रम संयोजक सचिदानन्द जोशीका अनुसार कैलालीको भजनी नगरपालिका र कैलारी गाउँपालिकामा तथा डोटीको दीपायल सिलगढी नगरपालिका र बढिकेदार र शिखर गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिएको छ ।
फायाले शुक्रबार धनगढीमा आरम्भ बैठक आयोजना गरी चार महिनासम्म कार्यक्रम लागु गरिएका स्थानीय तहका महिला जनप्रतिनिधिहरुको नेतृत्व विकासको कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रम अन्तरगत महिला जनप्रतिनिधिहरुले स्थानीयको कार्य सम्पादनमा भोगिरहेको अप्ठेराहरुको अध्ययन, उनीहरुको आवश्यकता अनुसार क्षमता अभिबृद्धि तालीम सञ्चालन, महिला जनप्रतिनिधिहरुको असल अभ्यास र अनुभव आदानप्रदान गर्ने साझा मञ्च निर्माण गर्ने लगायतको गतिविधि सञ्चालन गरिने कार्यक्रम संयोजक जोशीले बताए ।
उनका अनुसार लैंगिक समानता र महिला सशक्तिकरणबारे स्थानीय तहका पुरुष जनप्रतिनिधि, सरकारी कर्मचारी, महिला जनप्रतिनिधिका परिवार तथा समुदायका सदस्यहरुसंग परामर्श, कैलाली र डोटी जिल्लाको लैंगिक प्रोफाइल निर्माण, महिला तथा अपांगता भएका व्यक्तिका सवालमा काम गर्ने संघसंस्थाको नक्सांकन, क्षमता अभिबृद्धि तथा परिचाल र सकारात्मक तथा प्रोत्साहनपूर्ण समाचार टिप्पणीका लागि मिडिया परिचालनका गतिविधि पनि हाम्रो नेतृत्व कार्यक्रमले सञ्चालन गर्ने छ ।
लैंगिक समानता, महिला सशक्तिकरण र सामाजिक समावेशिता प्रबद्र्धनका लागि स्थानीय नीति तथा योजना निर्माण र कार्यान्वयन गर्न समावेशी तथा जवाफदेही स्थानीय सरकार प्रदर्शन गर्ने उद्देश्यले कार्यक्रम लागु गरिएको फाया नेपालका निर्देशक धर्मराज पाठकले बताए । उनले महिला जनप्रतिनिधिहरुले स्थानीय तहमा अझै पनि सहनेतृत्वको भूमिका निर्वाह गर्न नसकेको अवस्था रहेको हुनाले उनीहरुको नेतृत्व विकास गर्न कार्यक्रमले भूमिका निर्वाह गर्ने बताए ।
पानसमा वत्ति बालेर हाम्रो नेतृत्व कार्यक्रम आरम्भ गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले स्थानीय तहमा कतिपय स्थानीय तहमा प्रमुखहरुले उपप्रमुखलाई सहनेतृत्वको भूमिका नदिएको बताए । ‘मैले सुनेको छु, कतिपय मेयरहरुले विदेश भ्रमणमा जाँदा पनि उपमेयरलाई कार्यबाहक जिम्मेवारी नदिएर आफूले चाहेका पुरुषलाई कार्यबाहक दिने गरेका छन्,’ मन्त्री सुवेदीले भने, ‘यो महिलाको नेतृत्व स्वीकार्न नसकेको परिणाम हो ।’
उनले महिला जनप्रतिनिधिहरुको नेतृत्व विकास गर्नुका साथै सामाजमा व्यप्त कुरीतिहरु हटाउन पनि कार्यक्रमले काम गर्नुपर्ने बताए । उनले राम्रो काम गर्ने महिला नेत्रीहरुलाई सम्मान गरी उनीहरुलाई अझै राम्रो काम गर्न प्रोत्साहन दिनुपर्ने बताए ।
सांसद् दुर्गा विकले अझै पनि पार्टीहरुले अझै पनि महिला नेतालाई मुख्य जिम्मेवारी दिन नचाहेको बताइन् । उनले स्थानीय तहको प्रमुख वा उपप्रमुख मध्ये एउटा पदमा महिला पठाउनुपर्ने नीति हुँदा प्रमुख जति सबै पुरुष पठाएर महिलालाई उपप्रमुखमा सीमित बनाइन् ।
भजनी नगरपालिकाकी उपमेयर छायाँ देवकोटाले आफूहरुलाई स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार समेत प्रयोग गन नपाएको बताइन् । उनले विकास र योजनाको विषयमा पुरुष जनप्रतिनिधिहरुले नै अघि लाग्ने गरेको बताइन् । मुद्दाहरुको बारेमा भने उनीहरु चासो नराख्ने गरेको उपप्रमुख देवकोटाले बताइन् । ‘मुद्दाको सवालमा मात्रै हामी स्वतन्त्र छौं,’ उनले भनिन्, ‘तर पनि न्यायिक समितिले महिलाको मुद्दा मात्रै हेर्नुपर्छ भनेर दावव दिन्छन् । महिलाको लागि बजेट पनि न्युन बजेट छुट्याइने गरेको छ ।’
फाया नेपालका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युएनओमनकी समा श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन फाया नेपालकी गोमा जोशीले गरेकी थिइन् ।