३ माघ २०८१, बिहीबार

निर्मला हत्या काण्ड : बुबा यज्ञराजमा डिप्रेसन बढ्दै



धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर, भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तका बुबामा केही दिनदेखि डिप्रेसन बढ्दै गएको छ ।
छोरी निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै १२ दिनदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका उनका बुवा यज्ञराज पन्तलाई शुरुमा रक्तचापको कमी र बढीको समस्या रहेकोमा केही दिनदेखि एक्कासी रुने, हाँस्ने, बर्बराउने, गालीगलौज गर्ने, सडकमा डुल्ने, ढुंगामुढा गर्ने समस्या देखिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले बताए ।
उनले चिकित्सकको सल्लाहपछि यज्ञराजलाई उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको बताए । उनले पन्तका परिवारले आपसी सरसल्लाहेपछि उनलाई उपचारका लागि लैजाने जानकारी दिए ।
भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षिया निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरेको अवस्थामा उखुबारीमा शव भेटिएको थियो ।
घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरिक्षक जगदीश भट्टलाई जागिरबाट हटाइएको छ । तर, अहिलेसम्म पनि घटनामा संलग्न दोषिको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार