१५ पुष २०८१, सोमबार

करदाता शिक्षा अभिमुखीकरण



महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलौचारमा आइतबार करदाता शिक्षा अभिमुखीकरण कार्यक्रम भएको छ । करदाता शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय वासिन्दालाई कर सम्बन्धी सचेतना जगाउन कार्यक्रम गरिएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षण संस्था, सहकारी संस्था, व्यवसायी लगायतका सहभागी भएका छन् ।
अभिमुखीकरण कार्यक्रमको नगरपालिकाका राजश्व परामर्श समितिका सदस्य हिमालबहादुर चन्दले उद्घाटन गरेका थिए । कार्यक्रम वडाध्यक्ष ध्वजबहादुर विष्टको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा राजश्व परामर्श समिति सदस्य चन्दले नगरका वासिन्दालाई कर सम्बन्धी सचेत गराउन करदाता शिक्षा कार्यक्रम गरिएको जानकारी दिए ।
“करदाता शिक्षा कार्यक्रम अन्तर्गत नगर वासिन्दालाई कर सम्बन्धी कानूनी व्यवस्था, करका स्रोत, पहिचान लगायतका विषयमा जानकारी गराउन कार्यक्रम गरिरहेका छौं” उनले भने– “यो कार्यक्रम सबै वडामा गरिरहेका छौं, यसबाट स्थानीयमा कर संकलनमा प्रगति हुने आशा राखेका छौं ।”
उनले कर तिर्नु नागरिकको कर्तव्य र नगरपालिकाले जनताबाट लिएको कर विकास निर्माण र जनतालाई सेवा प्रवाहमा सदुपयोग गर्ने दायित्व भएको बताए ।
कार्यक्रममा वडाध्यक्ष ध्वजबहादुर विष्टले करको सदुपयोग गर्न वडा कार्यालय सधैं प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा राजश्व परामर्श समितिका सदस्य चन्द, नगरपालिकाका आन्तरिक लेखा परीक्षण अधिकृत केशवदत्त भट्ट र मीनराज भट्टले सहजीकरण गरेका थिए ।
भीमदत्त नगरपालिकाले वडा नम्बर १९ बाट करदाता शिक्षा कार्यक्रम सुरु गरेकोमा हालसम्म ६ वडामा कार्यक्रम भइसकेको जनाएको छ ।
नगरपालिकाले चालू आर्थिक वर्षमा १३ करोड रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार