२ माघ २०८१, बुधबार

कपोकल्पित आरोप लगाइयो– काँग्रेस



बेलौरी । नेपाली काँग्रेस, कञ्चनपुर क्षेत्र नम्बर १, ले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिद्वारा संविधान सभाका पूर्व सदस्य तथा नेपाली काँग्रेसका नेता दिवानसिंह बिष्टमाथि कपोकल्पित आरोप लगाइएको भन्दै आपत्ति व्यक्त गरेको छ ।
काँग्रेस क्षेत्रीय समितिले प्राथमिक स्वास्थ्य केन्द्र, श्रीपुर व्यवस्थापन समितिका अर्जुन ढकालद्वारा नेता बिष्टले कुटपिट गरेको आरोप लगाउँदै विज्ञप्ति जारी गरेकोमा आपत्ति व्यक्त गरेको छ ।
आइतबार काँग्रेसका क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय र सचिव बिसराम रानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘अस्पतालमा कार्यरत दुई जना डाक्टरको करार अवधि थपका लागि अनुरोध गर्दा डाक्टर अमित पण्डितले सामान्य प्रक्रिया समेत नपुर्‍याएर भर्ना गरेपछि विवाद बढेको हो ।’
विज्ञप्तिमार्फत काँग्रेस क्षेत्रीय समितिले डाक्टर पण्डितको गलत कार्यबारे नगर प्रमुखलाई ज्ञापनपत्र बुझाइएको तथा सच्याउन माग गर्दै विरोधका कार्यक्रम अघि बढाइएको जनाएको छ ।
‘डाक्टर पण्डितको गलत कार्य तथा व्यवस्थापन समितिको गलत निर्णय सच्याउन आग्रह गर्दा कुनै सुनुवाई भएन’ विज्ञप्तिमा डाक्टर पण्डितले अस्पतालमा विरामीको चेकजाँच तथा औषधोपचार भन्दा पनि निजी क्लिनिकमा बढी समय दिने गरेका कारण बिरामीले निकै सास्ती भोग्नु परेको विषयमा उनलाई आग्रह गरिएको विषयलाई अतिरञ्जित गरिएको दावी गरिएको छ ।
काँग्रेस क्षेत्रीय समितिले डाक्टर पण्डित तथा व्यवस्थापन समिति अध्यक्षका गलत कार्य सच्याउन माग गर्दै तीन दिनभित्र माग सुनुवाई नभए आन्दोलनमा उत्रिने चेतावती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार