प्रारम्भिक कक्षा पढाई प्रभावकारी बनाउछौंः मन्त्री सोडारी
धनगढी, प्रदेश सातका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
बुधबार धनगढीमा आयोजित एक कार्यक्रममा मन्त्री सोडारीले प्रारम्भिक सिकाई बलियो नभएसम्म परिणाम राम्रो नआउने बताए । उनले प्रारम्भिक कक्षालाई प्रभावकारी बनाउन अभिभावक, शिक्षक, व्यवस्थापन समिति, विद्यार्थी सहित शिक्षासंग सरोकार राख्ने सबैको भूमिका बढाउनु पर्ने बताए ।
मन्त्री सोडारीले हुनेखानेका छोराछोरी निजि र गरिबका छोराछोरी सरकारी विद्यालयमा भर्ना हुने गरेको दोहो¥याउदै सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न सरकार कटिवद्ध रहेको बताए ।
मन्त्री सोडारीले अरुका लागि संघीयता आए पनि शिक्षाका लागि आउन नसकेको गुनासो गरे । उनले भने– जिल्ला प्रशासनको मातहतमा शिक्षालाई राखिएको छ, शिक्षा प्रशासनको मार्फत संचालन हुनु सम्भव छ कि छैन् ? उनले स्थानीय तहलाई आधारभूत माध्यमिक तहसम्मको एकल अधिकार दिएको र त्यो अधिकार प्रयोग गर्दा विभिन्न बाधा व्यवधान आउने गरेको बताए ।
सामाजिक विकास समितिका सभापति मानबहादुर सुनारले प्रदेश ७ मा रहेका सरकारी विद्यालयको गुणस्तर खस्कदै गएकोमा चिन्ता व्यक्त गरे । समितिले प्रदेश ७ का नौं वटै जिल्लाका शिक्षाको गुणस्तरका विषयमा अनुगमन गरिने बताए ।
प्रदेश ७ का प्रमुख सचिव लक्ष्मीराम पौडेलले शिक्षामा हामी कहाँ चुक्दै आएका छौं भन्नेबारे गम्भिर छलफल हुनुपर्ने बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव गोगनबहादुर हमालले प्रारम्भिक कक्षा पढाई कार्यक्रमले बालबालिकाको क्षमता अभिबृद्धि हुनुपर्ने बताए । उनले प्रदेश ७ को शिक्षा नीतिमा धेरै ऐन नियम बनाई शैक्षिक गुणस्तर बृद्धिमा जोड दिइने बनाए ।
प्रारम्भिक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले आयोजना गरेको कार्यक्रममा सामाजिक विकास समिति प्रदेश ७ का सांसद, शिक्षासँग सरोकार राख्ने निकायहरुको सहभागीता रहेको थियो ।
युएसएआइडिको सहयोगमा भएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम देशभरका १६ वटा जिल्लामा संचालित छ । प्रदेश ७ का कञ्चनपुर, कैलाली र डडेल्धुरामा गरी तीन जिल्लामा यो कार्यक्रम संचालित छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका लागि पाँच वर्षे योजनामा देशका ७७ वटै जिल्लामा यो कार्यक्रम संचालन गरिने लक्ष्य राखिएको छ ।