एक सातामै कालोपत्रे उप्कियो
डोटी । डोटीको दिपायल राजपुरमा एक साता अघि मात्र गरिएको कालोपत्रे सडक उप्किएको छ ।
दिपायलको राजपुरबाट सुदूरपश्चिम पृतना हेडक्वार्टरको मूल गेटसम्म कालोपत्रे गरिएको सडक साता नबित्दै उप्किएर हिलाम्मे हुन थालेको छ ।
धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालको टेण्डर अनुसार त्रिशक्ति कन्ट्रक्सनले सो सडक कालोपत्रे गरेको हो । १२ सय मिटर सडक कालोपत्रे गर्न एक करोड २७ लाख रुपैयाँमा ठेक्का स्वीकृत भएको बताइएको छ ।
जेठ मसान्तमा काम सक्नेगरी सम्झौता भएको सो सडक हाल आएर कालोपत्रे गरिएको स्थानीय लालबहादुर धामीले बताए । “असार मसान्तसम्म समयसीमा तोकिए पनि वर्षायाममा गरिएको कालोपत्रे गुणस्तरको नहुने भएकाले जेठ १५ भित्र काम सक्न निर्देशन दिइएको थियो” धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालयका प्रमुख इञ्जिनियर राजेन्द्र शाहले भने– “हामीले जेठ १५ मै काम सक्न लिखित पत्राचार समेत गरेका थियौं, किन अहिले आएर कालोपत्रे गरे हामीलाई पनि थाहा छैन ।”
कालोपत्रे सडकको मापदण्डअनुसार नबनेको स्थानीयको आरोप छ । सडकको चौडाई ७ मिटर हुनुपर्ने भनि लिखित सम्झौता भए पनि तोकिए अनुसारको चौडाई नपुगेको स्थानीयको दावी छ ।
सडकमा इष्टिमेट अनुसारको काम नभएकाले आफूले रकम भुक्तानीका लागि सिफारिस नगर्ने दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष वीरेन्द्र शाहले बताए ।
धनगढी–खुटिया–वीपीनगर–दिपायल फाष्ट ट्रयाक योजना कार्यालयले सुरुमा सडक निर्माण कम्पनीलाई ५० लाख रुपैयाँ भुक्तानी दिएको इन्जिनियर शाहले बताए ।
इन्जिनियर शाहले भने “काम हेरेर इष्टिमेट अनुसारका काम गराएर मात्रै भुक्तानी दिन्छौं, नत्र भुक्तानी रोकिने छ ।”