२८ पुष २०८१, आईतवार

डडेल्धुराको एक मात्र कभर्डहल भत्कियो



डडेल्धुरा । जिर्ण अवस्थामा रहेको डडेल्धुराको कभर्डहल भत्किएको छ । जिल्लाको एक मात्र कभर्डहल लगातारको वर्षाका कारण शनिबार भत्किएको हो । अमरगढी नगरपालिका वडा नम्बर ४ खलंगामा ३४ वर्ष पहिले निमार्ण भएको उक्त कभर्डहल जिर्ण अवस्थामा रहेको थियो ।
पुरानो संरचना भएको र मर्मतसम्भार नभएकोले अविरल वर्षाका कारण कभर्डहल भत्किएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले बताए । कभर्डहल मर्मतका लागि बारम्बार सरोकारवाला निकायमा अनुरोध गरेतापनि कुनै सुनुवाई नभएकाले कभर्डहल भत्किएको बताए ।
“विगत एक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश सरकारलाई इस्टीमेट सहित मर्मतका लागि अनुरोध गर्दै आएका छौं” उनले भने, “स्थानीय निकाय अमरगढी नगरपालिकालाई पनि निकै अनुरोध गरे तर वेवास्था गरियो ।”
इनडोर खेलहरू खेल्नका लागि हलको प्रयोग हुने हुँदा अबबाट खेल खेल्न समस्या हुने खेलाडी सुनिल तामाङले बताए । ब्याडमिन्टन, टेबलटेनिस, कराते, बक्सीङ, चेस जस्ताभित्र खेलिने खेलहरू बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुने हुँदा कभर्डहलको आवश्यकता रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार