७ पुष २०८१, आईतवार

सीमा सुरक्षा सम्बन्धी छलफल हुँदै



दार्चुला । नेपालको दार्चुला र भारतको पिथौरागढका सुरक्षा अधिकारीहरूबीच सुरक्षा सम्बन्धी छलफलका लागि आज (बिहीबार) दार्चुलाको सदरमुकाम खलंगामा बैठक हुने भएको छ ।
प्रत्येक वर्ष आलोपालो गरी भारतको पिथौरागढ र दार्चुलाको खलंगामा दुवै देशका सुरक्षा अधिकारीको बैठक हुने प्रचलन अनुसार यस पटक दार्चुला सदरमुकाम खलंगामा बैठक हुने जनाइएको छ ।
दुई देशको सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि समन्वयात्मक बैठक हुने दार्चुलाको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।
ब्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले भारतसित सीमाना जोडिएको ब्याँस गाउँपालिकाका विभिन्न ठाउँमा पानीको मात्रा घट्ने बित्तिकै दुवै देशका नागरिकहरूले आवश्यकताअनुसार काठेपुल बनाउने र आपराधिक गतिविधि, तस्करी र चोरी सिकारीमा बृद्धि हुने गरेकोले नियन्त्रणका लागि आवश्यक पहल गरिनुपर्ने बताए ।
त्यसैगरी कुटी खोला र महाकाली नदीको दोभान नजिक कौवा भन्ने ठाउँमा भारतीय सुरक्षाकर्मीहरूले काठेपुल बनाएर आफूखुसी गर्ने गरेको जस्ता विषयलाई दुवै देशका सुरक्षा अधिकारीहरूको बैठकमा गम्भीरताका साथ उठाउन स्थानीयले अनुरोध गरेका छन् ।
स्थानीय सञ्चारकर्मीहरूले भारतीय वायुसेनाको हेलिकोप्टर मनमानी ढंगले दार्चुला सदरमुकाम खलंगा, दुहुँ गाउँपालिकाको हिकिलासम्म अवैध ढंगले उडान भर्ने गरेकोले भारतीय पक्षसँग नियन्त्रणका लागि द्विपक्षीय बैठकमा कुरा उठाउनुपर्ने माग गरेका छन् ।
त्यस्तै, वर्षातको समयमा भारतको धौलीगंगा जलविद्युत आयोजनाले पूर्व सूचना बिना पानी छोड्ने गरेकोले यसबाट बाढीको जोखिम बढ्ने गरेको र खोतिला भिरको पहिरोका कारण महाकाली नदीको पानी थुनिन सक्ने खतरा रहेको स्थानीयले द्विपक्षीय बैठकमा उठाउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार