भारत हुँदै दुवई जान लागेकी दुई महिलाको उद्दार
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैध रूपमा दुवई जान लागेका दुई महिलालाई उद्धार गरिएको छ ।
तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया सर्मिला परियारलाई इलाका प्रहरी कार्यालय, गड्डाचौकी र थ्री एन्जल्स नेपालका कर्मचारीले उद्धार गरेको जनाइएको छ ।
उनीहरू दुवैजना काठमाडौंदेखि नयाँदिल्लीसम्म चल्ने पर्यटक बसमा भारततर्फ जाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा गड्डाचौकीबाट उद्धार गरिएको थ्री एन्जल्स नेपालका लक्ष्मी गिरीले जानकारी दिए । ‘दुवै जनासित राहदानीसमेत रहेकाले सोधपुछ गर्दै जाँदा अभिभावकलाई समेत झुक्याएर भारतीय एजेण्टमार्फत दुबई जान हिडेका रहेछन्’ गिरीले दुवैजनाले दिल्ली हुँदै दुबई जान लागेको स्वीकारेको बताए ।
गीताले यसअघि दुई वर्ष दुबईमा बसिसकेको र शर्मिलाले साउदी अरब र दुबईमा गरी छ वर्ष वैदेशिक रोजगारीमा बिताइसकेको बताइन् । उनीहरूले ‘दुबईबाट भारतीय एजेण्टले दिल्ली हुँदै आउन भनेपछि यो बाटो आएको’ बताए । गीताले भारतीय मोहमद इक्वालले दुबई बोलाएको बताए ।
प्रहरीले दुवैजनाका आफन्तसित सम्पर्क गराइसकेकाले परिवारको जिम्मा लगाउने बताएको छ ।
पर्यटक बसलाई चेकजाँचका क्रममा शंका लागेपछि अनुसन्धान गर्दा दलालमार्फत वैदेशिक रोजगारीमा जान लागेकाले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
त्यसैगरी, मंगलबार नै माइती नेपाल, कञ्चनपुरले दोधारा चादनी झोलुंगे पुल हुँदै भारत जान लागेकी एक युवतीको उद्धार गरेको छ । झोलुंगे पुल हेर्ने बहानामा महाकाली नगरपालिका हुँदै भारत जान लागेकी सुर्खेतकी १९ वर्षीया युवतीलाई उद्धार गरिएको हो ।
उनलाई भारत लैजान लागेका बर्दियाको गुलरियाका २२ वर्षीय पुष्कर बैलकोटी र २४ वर्षीय प्रकाश बैलकोटीलाई समेत नियन्त्रणमा लिइएको छ । पक्राउपछि युवकद्वयलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा राखिएको छ भने युवतीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।