सरकार अधिनायकवादतर्फ उन्मुख– देउवा
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
‘कम्युनिष्टहरूको नेतृत्वको वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख छ’ शनिबार नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले वर्तमान सरकारले जनताको हित विपरित काम गरिरहेको आरोप लगाए ।
उनले पार्टीलाई पुरानै अवस्थामा ल्याएर आगामी निर्वाचनमा बहुमतका साथ सबैभन्दा ठूलो दल बनाउने घोषणा गरे ।
सभापति देउवाले प्रदेश नम्बर ७ को राजधानी डडेल्धुरालाई बनाउने इच्छा हुदाहुदै पनि विभिन्न कारणले बनाउन नसकेको बताए ।
उनले भने– प्रदेको राजधानीका लागि डडेल्धुरामा उपयुक्त पूर्वाधार नभएकाले बनाउन सकिएन । उनले डडेल्धुरालाई पर्यटकीय राजधानी बनाउन पहल गरिने बताए ।