२८ पुष २०८१, आईतवार

स्वास्थ्य शिविरबाट झण्डै एक हजार जना लाभान्वित



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा शुक्रबार र शनिबार गरेर दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट नौ सय ८० जना स्थानियले स्वास्थ्य सेवा लिएका छन ।
स्वास्थ्य शिविरमा पाँच सय ४० जनाले सामान्य उपचार सेवा लिएको सो क्षेत्रबाट निर्बाचित प्रदेश सभाका सांसद लीलाधर भट्टले बताए । यस्तै एक सय ३८ जनाको खराव दाँत फालिएको, तीन सय २१ जनाले नाँक, कान, घाँटीको उपचार गराएको र एक सय ९१ जना महिलाले स्त्री रोगको सेवा लिएको सांसद भट्टले बताए ।
साामजिक विकास मन्त्रालय, दोगडाकेदार गाउँपालिका र सामाजिक विकास तथा सचेतना समाज (स्वदेस) बैतडीले सो स्वास्थ्य शिविर आयोजना गरेको हो ।
निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न नेपालगञ्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरु खटिएका थिए ।
सोही टोलीले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा थप सात दिनसम्म स्वास्थ्य सेवा चलाउने स्वास्थ्यकर्मीको नेतृत्व गरेर आएका अव्दुल हुसेनले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य परीक्षणमा पाठेघर सम्बन्धि समस्या भएका महिलाहरुका लागि कलेजले शल्यक्रिया गर्न नेपालगञ्जसम्मको बसभाडा, खाने बस्ने र अस्पतालको सम्पूर्ण खर्च व्यहोर्ने गरेर शिविर संचालन भएको हो । स्वास्थ्य परिक्षणका क्रममा नेपालगञ्ज गएर उपचार गर्नु पर्ने अन्य रोगका विमारीलाई लागेको खर्च आधा छुट दिने पनि नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।
शिविर चलाउन गाइलोक्लोजिस्ट डा. सुजिता पन्त, मेडिसियन डा. सृजन सिलवाल, नाक, कान, घाँटी विशेषज्ञ डा.सुलभ श्रेष्ठ र हन्त रोज विशेषज्ञ डा. हस्त थापा सहितका स्वास्थ्यकर्मी बैतडी पुगेका छन ।
दोगडाकेदार गाउँपालिकामा शुक्रबार शुरु भएको स्वास्थ्य शिविरको सात नम्बर प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले उद्घाटन गरेका थिए । मन्त्री सोडारीले फेरि पनि जनताको स्वास्थ्य अवस्थाको ख्याल गर्दै सात नम्बर प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा स्वास्थ्य शिविर आयोजना गरिने बताए । सो अवसरमा प्रदेश सभाका सांसद भट्ट, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार