२८ पुष २०८१, आईतवार

स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै



बाजुरा । विपन्न समुदायलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य सहित सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम बाजुरामा प्रभावकारी बन्दै गएको छ । थोरै लगानीमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएकाले सर्वसाधारणमा स्वास्थ्य बिमा कार्यक्रमप्रति आकर्षण बढ्दै गएको छ ।
बाजुरामा पछिल्ला डेढ महिनाको अवधिमा सात हजार जना बढीले स्वास्थ्य बिमा गरेका छन् । जिल्ला नाम दर्ता अधिकारी तारा रोकायाका अनुसार बाजुराका एक हजार तीन सय परिवारका सात हजार जना बढी स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् ।
बाजुरामा गत चैत्र २५ गतेबाट स्वास्थ्य बिमामा सहभागी बन्न नाम दर्ता कार्य सुरु गरिएको थियो । थोरै रकम तिरेर वर्षभरी विरामी पर्दा परिवारका सबै सदस्यले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएपछि कार्यक्रमप्रति स्थानीयको आकर्षण बढेको नाम दर्ता अधिकारी रोकायाले बताइन् ।
स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बन्न नाम दर्ता भएका परिवारले यसै महिनाबाट उपचार सेवा पाउने जनाइएको छ । नाम दर्ताका लागि बाजुराका सबै नौ वटै स्थानीय तहका ५९ वटा वडामा स्वयंसेवक खटिएका छन् । जिल्ला स्तरमा तीन जना कर्मचारीको व्यवस्था गरिएको छ ।
स्वास्थ्य बिमा कार्यक्रमको बाजुराका प्रतिनिधि सभा सदस्य लालबहादुर थापा र जिल्ला स्वास्थ्य समन्वय समितिका सल्लाहकार एवं जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकायाले नाम दर्ता गराएर औपचारिक रूपमा आरम्भ गरेका थिए ।
बाजुरामा २०६८ सालको जनगणना अनुसार २० हजार नौ सय आठ परिवार संख्या रहेको छ । सबै घरपरिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गराउने लक्ष्य सहित कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । बिमा गराएकामध्ये २० प्रतिशत अति विपन्न परिवार रहेका छन् । उनीहरूको नि:शुल्क बिमा गराइएको छ ।
पाँच जना सदस्य संख्या रहेको परिवारमा दुई हजार पाँच सय रुपैयाँका दरले बिमा शुल्क लाग्ने व्यवस्था छ ।
पाँच जनाभन्दा बढी परिवार सदस्य संख्या भएमा प्रति व्यक्ति चार सय २५ रुपैयाँ थप शुल्क लाग्ने जनाइएको छ । स्वास्थ्य बिमा गरेका परिवारले वार्षिक ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था गरिएको छ ।
स्वासथ्य बिमामा सहभागी विमितले स्वास्थ्य सेवा प्राप्त गर्न जिल्लामा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र जिल्ला अस्पताल बाजुरालाई सूचीकृत गरिएको छ । स्थानीयले तोकिएका दुईवटा स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सम्भव नभए रिफर प्रमाणका आधारमा अछामको बयालपाटा, डडेल्धुराको उपक्षेत्रीय अस्पताल, धनगढीको सेती अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार सुविधा उपलब्ध हुने बिमा कार्यक्रम ७ नम्बर प्रदेश संयोजक जनक साउँदले बताएका छन् ।
अति विपन्न परिवारले स्वास्थ्य बिमामा सहभागी हुन लाग्ने दुई हजार पाँच सय रुपैयाँ तिर्न नसक्ने अवस्थाको भए विपन्न परिवारको प्रमाणपत्रको आधारमा नेपाल सरकारले नि:शुल्क बिमा गर्ने प्रावधान रहेको बाजुरा जिल्ला अस्पतालले बताएको छ । स्वास्थ्य उपचारका नाममा जिल्लाको श्रोत अन्यन्त्र जाने र महागो मूल्य तिर्नुपर्ने समस्यामा बिमा कार्यक्रमले कमी ल्याउने अस्पताल विकास समिति अध्यक्ष भरत रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार