तस्करसँग मोटो रकम लिएर घटना दबाइयो
धनगढी । ड्युटीमा रहेका प्रहरी जवानमाथि आक्रमण गर्ने तस्करबाट प्रहरीले डेढ लाख रुपैयाँ लिएर घटना सामसुम पारेको छ ।
गत बिहीबार राति कैलाली भन्सारसँग जोडिएको कञ्चनपुरको डोकेबजारमा ड्युटीमा खटिएका प्रहरी जवान रमेश भट्टमाथि तीन जना भारतीय तस्करले हातपात गरेका थिए ।
भारतीय तस्करहरूले प्रहरी जवान भट्टमाथि आक्रमण गर्ने क्रममा उनको साढे दुई तोलाको सुनको सिक्री हराएको भन्दै प्रहरीले भारतीय तस्करहरूसँग एक लाख ५३ हजार रुपैयाँ लिएर घटना मिलाएको बताइएको छ ।
गत बिहीबार राति ९ बजे कञ्चनपुरको डोकेबजारमा ड्युटीमा खटिएका प्रहरी चौकी पचकडियाका प्रहरी जवान भट्टमाथि तीन जना भारतीय तस्करले हातपात गरेको बताइन्छ । सो क्रममा प्रहरी जवान भट्टको साढे दुई तोला सुनको सिक्री हराएको प्रहरीको दावी छ । प्रहरीलाई हातपात गर्दा गुहार मागेपछि स्थानीयले भारतीय नागरिक समित रानालाई कुटपिट गरी प्रहरी चौकीमा राखेको थियो । बिहीबार राति प्रहरी चौकीमा सबैको रहोबरमा तस्करलाई राखेको भएपनि आफूहरूलाई खबरनै नगरी प्रहरीले पैसा खाएर छोडेको स्थानीयको आरोप छ ।
प्रहरीलाई बचाएर तस्करलाई प्रहरी चौकीमा ल्याउन स्थानीयकै सहयोग रहेपनि प्रहरीले तस्करबाट पैसा लिएर छोडेको स्थानीय धनबहादुर थापाले बताए ।
प्रहरीलाई तीन जना तस्करले आक्रमण गरेपनि दुई जना तस्कर भाग्न सफल भएका थिए । एक जना समित रानालाई भने नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । प्रहरी जवान रमेश भट्टले आफ्नो साढे दुई तोलाको सिक्री हराएकै कारण क्षतिपूर्ति मागेको बताए । तर, स्थानीय प्रत्यक्षदर्शी अनुज शर्माले प्रहरीको सिक्री खसेको भएपनि खाज्ने क्रममा आफ्नै अगाडि प्रहरीले सिक्री पाएर खल्तीमा हालेको दावी गरे ।
पैसा खान खोज्दा प्रहरीमाथि उनीहरूले आक्रमण गरेको र प्रहरीले उल्टो पैसा असुल्ने निहुँमा सिक्री हराएको नाटक गरेको उनको आरोप छ ।
तस्करले प्रहरीलाई आक्रमण गर्न खोज्दा स्थानीयको हुलले तस्कर रानालाई निर्घात रूपमा कुटेको प्रहरीको दावी छ । प्रहरीले तस्करलाई पैसा खाएर छोडेको आरोपमा स्थानीयले प्रहरी चौकी पचकडिया घेराउ गरेका थिए ।
पोसाकमै रहेका प्रहरीलाई आक्रमण गर्दासम्म पनि प्रहरीले व्यक्तिगत स्वार्थ बोकी पैसा लिएर छोडेको भन्दै स्थानीय आक्रोसित भएका थिए । प्रहरी चौकी पचकडियाका असई मदनसिहं धामीले प्रहरी जवान भट्ट र तस्कर रानाकै सहमतीमा सिक्रीको पैसा दिने सहमती गरी रानालाई उपचारका लागि भारत पठाएको बताए ।