खहरेले बगाउँदा एकै परिवारका पाँच जनाको मृत्यु
बझाङ । शनिबार राति परेको अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले बगाउँदा बझाङको थलारामा एकै घरका पाँच जनाको मृत्यु भएको छ ।
अविरल वर्षापछि खहरे खोलामा आएको बाढीले बगाँदा थलारा गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय हर्क विक, उनकी २६ वर्षीया श्रीमती देवकी, १२ वर्षीया छोरी मनिशा र तीन वर्षीय छोरा सक्षम तथा ३५ वर्षीया भाउजु कलसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।
स्थानीय ढोड्येखेत बजारबाट घर फर्किने क्रममा गाउँ नजिक रहेको डिक्लीगाड खोला तर्ने क्रममा उनीहरू बगेका थिए ।
प्रहरीका अनुसार शनिबार राति करिब ८ बजेतिर सो घटना भएको थियो ।
यसअघि गत १९ गते जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा खहरे खोलाले से १ ज ८२० नम्बरको जीप बगाउँदा तीन जनाको मृत्यु भएको थियो । जीपमा रहेका खप्तड छान्ना गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय सुरज वन, कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १ का जीप चालक २८ वर्षीय रमेश चन्द र बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर १ का २७ वर्षका अशोक ओडको मृत्यु भएको थियो ।
त्यस्तै, गत १८ गते बुंगल नगरपालिकामा रहेको कालंगा नदिमा नुहाउने क्रममा केदारस्यु गाउँपालिकाका ४० वर्षीय मिठ्ठु खातीको डुबेर मृत्यु भएको थियो ।