२८ पुष २०८१, आईतवार

ग्रामीण सडक निर्माण पुरा



बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका–१ (साविकको कैलापाल–९) डंसिलीमा ग्रामीण सडक निर्माण कार्य पूरा भएको छ । अनारखोली–चुल्लेक–डङ्सिली सडकअन्तर्गत गाउँ सडक सञ्जालमा जोडिएपछि पहिलोपटक सवारीसाधन पुगेको स्थानीय भीम बोहराले बताए ।
चालु आर्थिक वर्षमा पाटन नगरपालिकाको ४० लाख रुपैयाँको बजेटमा गाउँमा सडक पुगेको हो । १३ किलोमिटर सडक निर्माणका लागि यसअघि नेकपा एमालेका सांसद दामोदर भण्डारीको सांसद विकास कोष र डोलीडारमार्फत ४६ लाख रुपैयाँ खर्च भइसकेको उपभोकता समितिका पूर्वअध्यक्ष दुरा भट्टराईले बताइन् ।
झण्डै ८६ लाख रुपैयाँको लागतमा गाउँमा सडक पुगेपछि स्थानीयबासिन्दा खुशी भएका छन् । गाउँमा सडक पुगेपछि उत्पादन गरिएका कृषि उपजलाई बजारसम्म पुर्‍याउन तथा आवतजावत गर्न सजिलो हुने स्थानीय गोमती बोहराले बताइन् ।
सडकमा यसभन्दा अगाडिको समितिले राम्रो काम नगरेपछि केही स्थानमा निकै भिरालो र गाडी सञ्चालनमा निकै कठिनाई रहेको सो सडकमा पहिलोपटक जीप पुर्‍याउने चालक लक्ष्मण भट्टराईले गुनासो लगाए ।
२०७० सालबाट सुरु भएको सडक निर्माणमा सडक डिभिजन कार्यालय पाटन, सडक डिभिजन कार्यालय कुलपाते डोटी, तत्कालीन जिल्ला विकास समिति, बैतडी तथा डडेल्धुराको समेत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार