६ पुष २०८१, शनिबार

विद्यालय भर्ना अभियान : मुख्यमन्त्रीका छोरी सामुदायिक विद्यालयमा भर्ना



धनगढी । विद्यालय भर्ना अभियानमा बल पुर्‍याउँदै प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन् ।
मुख्यमन्त्री भट्टले बुधबार आफ्ना छोरीलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा भर्ना गराए । सो विद्यालयमा आयोजित भर्ना अभियानमा सहभागी भएका मुख्यमन्त्री भट्टले आफ्नै छोरीलाई भर्ना गराए ।
मुख्यमन्त्री भट्टका १४ वर्षीया छोरी पुनम कक्षा ८ मा भर्ना भएका छन् ।
सो अवसरमा मुख्यमन्त्री भट्टले भने– ‘मेरो विश्वास सामुदायिक विद्यालयप्रति नै छ ।’ उनका छोरीहरू यसअघि पनि डोटीको देवस्थल माध्यमिक विद्यालयमा नै अध्ययन गर्दथे । उनले भने– ‘सामूदायिक विद्यालयप्रति आम जनतामा विश्वास बढाउन स्कूलका शिक्षकहरूले पनि आफ्ना छोराछोरीलाई सरकारी/सामूदायिक स्कूलमा नै पढाउन म आह्वान गर्दछु ।’
मुख्यमन्त्री भट्टले अधिकांस सामुदायिक विद्यालयले सरकारी लगानी अनुसारको प्रतिफल दिन नसकेको चर्चा गरे । उनले प्रदेश सरकारले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर बृद्धिका लागि ठोस नीति बनाउने बताए ।
उनले नेपाल सरकार आफै नै अभिभावक बनेर शुरु गरेको विद्यालय भर्ना अभियान सफल बनाउन आह्वान गरे ।
सो अवसरमा मुख्यमन्त्री भट्टले नयाँ भर्ना भएका विद्यार्थीहरूलाई पुस्तक सहितका शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार