२७ पुष २०८१, शनिबार

झोलुंगे पुल निर्माण कार्य अघि बढेन



फाइल तस्बिर

बैतडी । भारतले सहमति नदिएका कारण महाकाली नदीमा निर्माणाधीन झोलुंगे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन ।
पुल निर्माणका लागि ठेक्कापट्टा सम्झौता भएको एक वर्षभन्दा बढी भइसक्दा समेत भारतले सहमति नदिएका कारण बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलुंगे पुलको निर्माण कार्य अघि बढ्न नसकेको बताइएको छ ।
भारतीय बजारमा आवतजावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरे पनि पुल निर्माणको काम अहिलेसम्म अघि नबढ्दा स्थानीयवासी निराश भएका छन् ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको झोलुङ्गे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीन वटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो ।
दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि पञ्चेश्वरमा भने काम नै शुरु हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
एक करोड ३३ लाख रुपैयाको लागतमा एक २४ मिटर लामो झोलुंगे पुल निर्माणको ठेक्का सम्झौता भएको थियो ।
पञ्चेश्वरमा महाकाली नदीमाथि झोलुंगे पुल निर्माणका लागि भारतको केन्द्रीय सरकारबाट नो अब्जेक्सन लेटर पाए पनि प्रान्तीय सरकारबाट सहमति आउन बाँकी रहेको झोलुंगे पुल डिभिजन कार्यालयका योजना प्रमुख गुरुप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार