अतिक्रमित राजमार्ग खाली गरिँदै
लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गको अतिक्रमण हटाउने अभियान तीब्र बनाएको छ ।
नगरपालिकाले राजमार्गको बीच भागबाट दायाँबायाँ २५ मिटर सम्मको जग्गा पूर्ण पमा खाली गर्न अतिक्रमण हटाउने अभियान अघि बढाएको छ ।
तोकिएको सडक सिमाभित्र रहेका घर तथा भौतिक संरचना भत्काउन शुरु गरिएको छ । नगरपालिका प्रमुख महादेव बजगाईंले सडक सिमानाभित्र परेको आफ्नै घर आफैं भत्काएका थिए ।
नगरभित्रका सबै सडकहरू कम्तीमा ३० फिट फराकिलो बनाउने अभियानपछि नगरपालिकाले राजमार्ग क्षेत्रमा दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै नगरको क्षेत्रभित्र पर्ने राजमार्गको बीच भागदेखि सडक विभागको मातहत रहेको २५ मिटर अतिक्रमित जग्गा खाली गर्ने १५ दिने सार्वजनिक सूचना प्रकाशन गरी अभियान चलाएको थियो ।
त्यसपछि चैत १ गतेसम्मका लागि दोस्रो पटक थप सात दिने सार्वजनिक सूचना प्रकाशित गरी अटेर गर्नेलाई कारवाही गर्ने नगरपालिकाले चेतावनी समेत दिएको छ ।