२ माघ २०८१, बुधबार

‘स्थानीय तहको शिक्षा नियमावलीले समस्या बढाउने’



धनगढी । स्थानीय तहहरूले तर्जुमा गरेका तथा गरिरहेका शिक्षा नियमावलीले उल्टै शिक्षकहरूलाई कठिनाई तथा समस्या बृद्धि गर्ने शिक्षक संघसंस्थाहरूले औल्याएका छन् ।
शिक्षक संघसंस्थाहरूले शिक्षासम्बन्धी स्थानीय तहको सोचले समस्या बढाउने भएकाले नियमावली संशोधन गर्न पनि माग गरेका छन् ।
आइतबारदेखि धनगढीमा शुरु भएको नेपाल शिक्षक संघको ७ नम्बर प्रदेशको पहिलो अधिवेशन उद्घाटन सत्रमा मन्तव्य व्यक्त गर्ने विभिन्न शिक्षक संघसंसथाका प्रतिनिधिहरूले स्थानीय तहले शिक्षकहरूको अधिकार कुण्ठित गर्ने ढंगबाट नयाँ नियमावली निर्माण गरेको प्रति चिन्ता व्यक्त गरे । ‘नियमावलीमा तत्काल उचित संशोधन नभए कडा आन्दोलन गर्न बाध्य हुनेछौं’ अधिकांस वक्ताले चेतावनी दिए ।
शिक्षक संघसंस्थाका प्रतिनिधिहरूले ७ नम्बर प्रदेशलाई शिक्षा क्षेत्रमा समृद्ध बनाउन शिक्षा नीति तथा नियमावलीमा यथोचित सुधार गर्न माग गरे । वक्ताहरूले अस्थायी र राहत शिक्षकको समस्या समाधान हुन नसकेको, जनप्रतिनिधिहरूले कानुन विपरित काम गरिरहेको लगायतका कारण शिक्षा क्षेत्रमा झन् विकृति तथा समस्या बृद्धि हुँदै गएको गुनासो गरे ।
अधिवेशनको नेपाली काँग्रेस केन्द्रीय सदस्य एनपी साउँदले एक समारोहबीच उद्घाटन गरेका थिए ।
सो अवसरमा केन्द्रीय सदस्य साउँदले शिक्षा क्षेत्रमा आशातित सुधारका लागि शिक्षकहरूको नै अहम् भूमिकाको चर्चा गरे ।
‘शिक्षक भनेको समाजको ऐना हो’ उनले भने– ‘शैक्षिक गुणस्तरमा सुधारका लागि शिक्षकको भूमिका नै महत्त्वपूर्ण छ ।’
केन्द्रीय सदस्य साउँदले बजारको मागअनुसार शिक्षामा परिर्वतन आवश्यक भएको चर्चा गरे । उनले भने– ‘बजारको मागअनुसार शिक्षा नीति बनाउनुपर्छ, र त्यसका लागि शिक्षकहरू पनि अध्यावधिक हुन जरुरी भएको छ ।’
पूर्व मन्त्री समेत रहेका नेता साउँदले शिक्षा क्षेत्रका विद्यमान चुनौतिको सामना गर्न तथा समयानुकुल शिक्षा बनाउन तीनै तहका सरकारको साझा दायित्व भएको बताए । उनले नेपालमा शिक्षा र सञ्चार क्षेत्रमा व्यापक परिर्वतन आएको चर्चा गरे ।
उनले स्थानीय तहमा अनुभव नभएको जनप्रतिनिधि पनि आएकाले सञ्चालनमा केही समस्या आएको बताए । ‘तर हामी सबै मिलेर शिक्षा क्षेत्रका अहिलेका समस्या र चुनौतिको सामना गर्दै समयानुकल शिक्षा प्रणालीका लागि लाग्नु पर्दछ’ उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा सुधारका लागि अझ बढि प्रयास गरिने पर्ने बताए ।
उद्घाटन समारोह नेपाल शिक्षक संघका प्रदेश संयोजक सिद्धराज भट्टको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा काँग्रेस नेता नरेशबहादुर सिंह, बाजुरा बडीमालिका नगरपालिकाका उपमेयर कविता विष्ट, नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रसिंह भण्डारी, राहत शिक्षक संघर्ष समितिका केन्द्रीय अध्यक्ष गोकुल रोकाया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संघका कैलाली अध्यक्ष गणेशप्रसाद ओझाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पदमराज अधिकारीले गरेका थिए ।
अधिवेशनको बन्दसत्रमा शिक्षकहरूले लामो समयदेखि भोग्दै आएका समस्याका बारे राज्यको ध्यान आकर्षण गर्न विभिन्न दवावमूलक कार्यक्रम गर्ने निर्णय गरिने नेपाल शिक्षक संघका प्रदेश ७ का संयोजक भट्टले जानकारी दिए ।
अधिवेशनले नयाँ कार्य समिति चयन गर्ने जनाइएको छ ।
अधिवेशन शुरु हुनुअघि धनगढी चौराहबाट अधिवेशन उद्घाटन स्थल कैलाली उद्योग वाणिज्य संघको हलसम्म पञ्चेबाजा र झाँकी सहित र्‍याली निकालिएको थियो ।
अधिवेशनमा ७ नम्बर प्रदेशका नौ वटै जिल्लाका तीन सय ३४ जना प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार