राष्ट्रिय रूपमा शिक्षक दरबन्दी मिलान गर्न माग
धनगढी । अखिल नेपाल शिक्षक संगठनले शिक्षक दरबन्दीलाई राष्ट्रिय रूपमा नै मिलान गर्न माग गरेको छ । शिक्षक संगठनले विद्यालयमा अझैं पनि विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था हुन नसकेकोले राष्ट्रिय रूपमा नै दरबन्दी मिलान गर्नुपर्ने बताएको छ ।
‘शहरका सामुदायिक विद्यालयमा शिक्षकहरूको दरबन्दी धेरै छ भने विकट क्षेत्रमा शिक्षक दरबन्दी न्यून छ’ अखिल नेपाल शिक्षक संगठनको छैटौं राष्ट्रिय सम्मेलनपछि शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष घनश्याम पाठकले भने– ‘यो अव्यवस्थालाई व्यवस्थित गर्न राष्ट्रिय स्तरबाटै शिक्षक दरबन्दी मिलान गरिनु पर्दछ ।’
अध्यक्ष पाठकले स्थानीय तहमा शिक्षासम्बन्धी २३ वटा अधिकार दिए पनि शिक्षक दरबन्दी तथा सरुवा बढुवाको अधिकार नभएको बताए । उनले भने– ‘कतिपय स्थानीय सरकारले अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरिरहेका छन् ।
उनले अहिलेको शिक्षाको संरचना अव्यवस्थित तथा अमर्यादित भएको आरोप लगाए । ‘विगतमा शिक्षा क्षेत्रमा राजनीति हावी भयो, शिक्षाको गुणस्तरमा सुधार आएन भनेर दोषारोपण गरिन्थ्यो’ उनले भने– ‘अहिलेको संरचनामा शिक्षाको गुणस्तर झन् खस्किने अवस्था देखिएको छ ।’
अखिल नेपाल शिक्षक संगठनले अनुसार देशभरी ४० हजारभन्दा बढी राहत शिक्षक भएकोले राहत शिक्षक अनुदानलाई दरबन्दीमा परिणत गर्नुपर्ने पनि माग गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष पाठकले अस्थायी शिक्षकको निर्धारित समयमै परीक्षा लिएर समस्या समाधान गर्नुपर्ने बताए ।
त्यस्तै, बालविकास केन्द्रमा कार्यरत शिक्षकहरूले न्यून ज्यालामा काम गर्नु परिरहेको संगठनको दावी छ । ‘देशभरी बालविकास केन्द्रमा २९ हजार बढी शिक्षक कार्यरत छन्, तर उनीहरूले मासिक छ हजार रुपैयाँ पारिश्रमिकमा काम गर्नु परिरहेको छ’ संगठनको माग छ– ‘बालविकास केन्द्रमा कार्यरत शिक्षकहरूलाई आधारभूत तहका विद्यालयमा योग्यता पुगेका शिक्षक सरह सेवासुविधा दिने व्यवस्था गरिनुपर्छ ।’
शनिबार धनगढीमा समापन भएको संगठनको छैठौं राष्ट्रिय सम्मेलनपछि कार्यसमितिको पहिलो बैठकले विभिन्न १० बुँदे माग अघि सारेको छ ।
बैठकले स्थानीय तहले निर्माण गर्न लागेको शिक्षा ऐन, नियम र कार्यविधि जारी गर्दा अनिवार्य रूपमा सरोकारवालाहरूसँग छलफल गर्नुपर्ने, शिक्षक अस्पतालको व्यवस्था गरिनुपर्ने, उमेर पुगेका नाममा वर्षौदेखि कार्यरत कर्मचारीलाई विना अनुदान अवकास दिने प्रक्रिया तुरुन्त रोक्नुपर्ने लगायतका माग गरेको छ ।
अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा पाठक
अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा घनश्याम पाठक चयन भएका छन् । शनिबार भएको छैटौं राष्ट्रिय सम्मेलनले पाठकको नेतृत्वमा नौ जना पदाधिकारी सहित ७५ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको जनाइएको छ ।
संगठनको वरिष्ठ उपाध्यक्षमा लक्षीराम ढकाल, उपाध्यक्षमा गुणारथ भट्टराई, टिकादेवी राई, रुद्र केसी र धनबहादुर बम, महासचिवमा रमेश रूपाखेती, सचिवमा विकास न्यौपाने र कोषाध्यक्षमा शंकर ढकाल चयन भएका छन् ।