होली पर्व संरक्षण गर्नुपर्छ : मन्त्री सोडारी
टीकापुर । टीकापुर क्षेत्रको बहुचर्चित होरी पर्वको संस्कृति मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका सात नम्बर प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरेका छन् ।
टीकापुरको खुला मञ्चमा भएको कार्यक्रममा मन्त्री सोडारीले होली खेल खेलेर होली पर्वको उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री सोडारीले पुर्खाले जोगाउँदै आएको होली जस्ता सामाजिक मेलमिलापका पर्वहरूलाई जोगाउन आफूले सक्दो प्रयास गर्ने बताए ।
टीकापुरमा निरन्तर वर्षौदेखि होली सञ्चालन हुँदै आएकोमा प्रशंसा गर्दे मन्त्री सोडारीले होलीले सबै भाषा, धर्म, समुदायलाई जोड्ने काम गरेकाले यस पर्वलाई जोगाउनु हामी सबैको कर्तव्य भएको पनि बताए ।
टीकापुरमा फागुन शुक्ल अष्टमीमा शुरु गर्ने गरिएको होली एक सातासम्म अर्थात् फागु पूर्णिमाको दिनसम्म सञ्चालन गर्ने प्रचलन रहेको छ । अछाम जिल्लाबाट बसाइसराइ गरेर आएकाहरूले वर्षौदेखि मनाउँदै आएको होली पर्व कैलालीमा टीकापुर होलीका रूपमा चर्चित छ । होली पर्व सेता पहिरनमा पञ्चेबाजासँग देउडा गाउँदै खेल्ने गरिन्छ ।
उद्घाटन कार्यक्रममा प्रदेशसभाका सांसद डा. रणबहादुर रावल, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल, उपप्रमुख केशरी विष्ट लगायतको उपस्थिति रहेको थियो ।