मोहना–अत्तरिया छ लेन सडक : घरधनीहरू आफ्ना घर आफैं भत्काउन थाले
धनगढी । धनगढी मोहनापुल–अत्तरिया सडकको सीमाभित्र रहेका घरधनीहरूले आफै घर भत्काउन सुरु गरेका छन् ।
मंगलबार सर्वोच्च अदालतले आयोजनाका पक्षमा निर्णय गरेपछि अहिले सडक सीमाभित्र पर्ने घरधनीहरूले घर भत्काउन लागेका हुन् ।
झण्डै दुई महिना लामो समयदेखि निर्माण कार्य अघि बढ्न नसकेको सो आयोजनाको सर्वोच्च अदालतको निर्णयपछि निर्माण कार्यको बाटो खुलेको थियो । सर्वोच्च अदालतमा गत पुष १९ गते धनगढीका धना जोशी लगायत १३ जनाले धनगढी उपमहानगरपालिका, सडक आयोजना, सडक विभाग, प्रधानमन्त्री कार्यालय लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
रिट दायर भएदेखि आयोजनाले सडक सीमाभित्र रहेका घर भत्काउन पाएको थिएन भने निर्माण कार्य पनि प्रभावित भएको थियो । बिहीबार धनगढीको मोहनापुलदेखि चटकपुरसम्म सडक सीमाभित्र पर्ने एक सय ४५ घरमध्ये अधिकाँसले स्वस्फुर्त रूपमा घर भत्काउन सुरु गरेका थिए । सडकमा परेका अधिकांश घरधनी आफैले भत्काएका छन् । चौराहादेखि भन्साररोडसम्म सडक क्षेत्र खाली भइसकेको छ । चौराहदेखि चटकपुरसम्मका अधिकांस घरधनीहरूले पनि स्वस्फुर्त रूपमा संरचना हटाउन गरेका छन् । केही घरधुरीहरूले भने अझै संरचना हटाएका छैनन् ।
सडक सिमाभित्र पर्ने घरधनीहरूले आफै घर भत्काउने काम गरिरहेको र केही मानिसले कामदार नपाएको पनि गुनासो गरेको आयोजना कार्यालयले जानकारी दिएको छ । ‘घरधनीहरूले घर आफै भत्काउने र कामदार खोजीरहेको प्रतिक्रिया दिएका छन्’ आयोजना प्रमुख मनिष शाहले भने ‘कार्यालय निरन्तर उनीहरूसँग सम्पर्कमा रहेको छ ।’ उनले अब निर्माण कार्यले गति लिने बताए । अहिले सर्वोच्च अदालतले धनगढी उपमहानगरपालिका र सडक विभागले लगत मूल्यांकन राखेर संरचना हटाउने भनेको र सोहीअनुसार आयोजनाले काम अघि बढाइरहेको उनले बताए ।
सर्वोच्च अदालतको आदेशले ६ लेन सडक आयोजनाका लागि सडक क्षेत्र खाली गर्ने बाटो खुलेसँगै ६ लेन सडक आयोजना कार्यालयले बुधबारदेखि सडक क्षेत्र खाली गर्न पहल शुरु गरेको छ । आयोजना कार्यालयले बुधबार स्थानीय प्रशासन र स्थानीय तहका जनप्रतिनिधिसँग सडक क्षेत्र खाली गर्नेबारे छलफल गरेको थियो ।
भारतीय नाका जोड्ने ६ लेन सडक यहाँको विकासको मेरुदण्ड हो । यो सडक निर्माणले यहाँको विकासमा ठूलो अर्थ राख्ने भएकाले अब कुनै पनि वहानामा आयोजनाको काम रोक्नु नहुने स्थानीयवासीको माग छ ।
सरकारी मापदण्डअनुसार राजमार्ग सडकको ५० मिटर चौडा रहेकाले उक्त क्षेत्रभित्र बनेका संरचना हटाउन आग्रह गर्दै सूचना जारी गर्दा घरधनीले अटेर गरेपछि आयोजना कार्यालयले घर भत्काउन शुरु गरेको थियो ।
सम्झौता भएको नौ महिनासम्म १० प्रतिशत भन्दा कम काम भएको छ । केही ठाउँमा मुख्य सडकका लागि नाली निर्माण गर्ने र माटो भरानको काम मात्र भएको छ । एक अर्ब ६८ करोड रुपैयाँ लागत रहेको आयोजनाको काम तीन खण्डमा छुट्याएर भइरहेको छ ।
सडक क्षेत्रभित्र पर्ने रुख कटान आदेश भदौमा मात्र प्राप्त भएकोले निर्माणको काम ढिलो गरी शुरु हुँदा पनि प्रगति न्यून रहेको आयोजना कार्यालयले जनाएको छ । धनगढीको भन्सार रोडस्थित मोहना पुलदेखि अत्तरिया चोकसम्म १४ दशमलव दुई किलोमिटर लम्बाई रहेको ६ लेन सडक अन्तरगत मुख्य सडकको चौडाई रहने ३२ दशमलव २ मिटर रहने छ ।
यस्तै, ६ लेन सडक आयोजना अन्तर्गत धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्म पर्ने विद्युत र टेलिफोनका पोल तथा खानेपानीका पाइप सार्न बजेट अभाव भएको छ । साढे ६ सय पोल र खानेपानीका पाइप सार्न नौं करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पोल सार्न ६ करोड रुपैयाँमात्र बजेट आएकाले टेण्डर प्रक्रिया अगाडि बढ्न नसकेको आयोजना प्रमुख शाहले बताए । कालोपत्रे सडकको छेउमा रहेका विद्युत पोल सडकको बीचको बिन्दुदेखि दायाँ–बायाँ २४/२४ मिटरमा र टेलिफोनका पोल २५/२५ मिटरमा सारिने छन् ।