२ माघ २०८१, बुधबार

प्रधानमन्त्री कप महिला क्रिकेट शुरु



धनगढी । धनगढीमा बुधबारदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको एक समारोहबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले उद्घाटन गरे ।
सो अवसरमा सदस्य सचिव बिष्टले धनगढीस्थित फाप्ला क्रिकेट मैदानलाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न खेलमैदान बनाउन पहल गरिने बताए । उनले अहिले फाप्लामा विभिन्न किसिमका विवाद आइरहेको प्रति चासो व्यक्त गरे । भने– ‘यो विवादलाई मिलाएर आउनु भएमा खेलकुल मन्त्रालयले यसका लागि आवश्यक बजेट विनियोजन गर्ने छ । उनले फाप्लामा दश हजार दर्शक क्षमताको स्टेडियम बनाउन सकिने बताए ।
सदस्य सचिव विष्टले कैलालीलाई खेलकुद जिल्लाका रूपमा पहिचान गराउन गुरुयोजना बनाउन जरुरी रहेको बताए । उनले डिपिएल, खप्तड गोल्डकप लगायत विभिन्न खेलकुद कार्यक्रमले धनगढीले राष्ट्रिय स्तरमा नै पहिचान पाइसकेको बताए । ‘अब यसलाई खेलगढीका रूपमा पहिचान गराउन सबै लाग्नुहोस्’ उनले डिपिएल संस्थागत भएर आएमा मन्त्रालयले पुरस्कार राशीमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले चौथो पटक आगामी पुसमा हुने खप्तड गोल्ड कपको प्रथम पुरस्कार राशी २१ लाख रुपैया पनि सहयोग गर्ने घोषणा गरे ।
धनगढीमा सञ्चालन भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार आगामी वर्ष १० लाख रुपैयाँ बनाउने घोषणा गरे ।
उनले सरकारले अहिले खेलकुदको शहरका रूपमा देशका तीन जिल्लालाई बनाउन पहल गरिरहेको बताए । उनले अब खेलाडीहरूलाई सम्मानजनक, धनी भएर बाँच्ने योजना, नीति कार्यान्वयन हुने बताए ।
कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक सिंहको अध्यक्षतामा भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व तथा कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा साविकका पाँचवटै विकास क्षेत्र तथा एउटा विभागीय टीम सशस्त्र प्रहरी बल (एपीएफ) गरी छ वटा टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने मुल आयोजक समितिका संयोजक बाबुराजा श्रेष्ठले बताए ।
त्यस्तै, वुमन अफ द सिरिजलाई १० हजार र अन्य चार विधाका उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता आयोजनाका लागि ३८ लाख ६३ हजार रुपैयाँ खर्च हुने जनाइएको छ । प्रतियोगिताका धनगढी उपमहानगरपालिका–३ स्थित फाप्ला खेल मैदानमा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार