२ माघ २०८१, बुधबार

प्रजातन्त्र दिवस : ‘आर्थिक क्रान्तिको यात्रा शुरु’



धनगढी । ६८ औं प्रजातन्त्र दिवस सोमबार धनगढीसहित देशभरी विविध कार्यक्रमका साथ मनाइएको छ ।
धनगढीमा प्रजातन्त्र दिवसका अवसरमा आयोजित समारोहमा प्रजातन्त्रको स्थापना तथा पुनस्र्थापनाका लागि भएका क्रान्ति, आन्दोलन, संघर्षमा प्राण आहुती गरेका शहीदहरूप्रति सम्मान अर्पण गरियो ।
समारोहमा श्रद्धाञ्जली प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले निरंकुश राणा शासनको अन्त्य तथा प्रजातन्त्रको स्थापनाका लागि शहीदहरूको बलिदानको स्मरण गरे ।
‘निरंकुश शासनको अन्त्यका लागि थुप्रै संघर्ष भएका छन्, थुप्रैले बलिदान दिएका छन्’ मुख्यमन्त्री भट्टले भने– ‘जनताको संघर्षकै कारण आज हामीले गणतन्त्र पाएका छौं ।’ उनले अब जनताले अनुभूति गर्ने गरी प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउने यात्रा द्रुत गतिमा अघि बढाइने बताए ।
मुख्यमन्त्री भट्टले प्रदेश नम्बर ७ मा रहेको अपार प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै मुलुककै सबैभन्दा धनी प्रदेश बनाउने बताए । भने– ‘यसको व्यवस्थापन गर्दै प्रदेशमा सुशासन कायम गर्ने हो भने यो देशकै धनी प्रदेश बन्ने छ ।’
समारोहमा प्रदेशका सभामुख अर्जुनबहादुर थापाले राजनीतिक आन्दोलन समाप्त भइसकेकाले अब आर्थिक क्रान्तिका युग शुरु भएको चर्चा गरे ।
‘देश संघीय संरचनामा गइसकेको छ । राजनीतिक आन्दोलनको अन्त्य भई आर्थिक क्रान्तिको सुरुवात भएको छ’ सभामुख थापाले भने– ‘त्यसैले सबै एकजुट भएर प्रदेशलाई समृद्ध बनाउने अभियानमा अघि बढ्नु पर्ने बेला आइसकेको छ ।’
समारोहमा संघीय मामिला तथा कानुन मन्त्रालयका सचिव पिताम्बर घिमिरेले स्वागत गरेका थिए ।
समारोहमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा, वन, वातावरण तथा पर्यटन मन्त्री माया भट्ट, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, उपसभामुख निर्मला वडाल (जोशी), प्रदेश सांसदहरूको उपस्थिति थियो ।
त्यस्तै, समारोहमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, ७ नम्बर प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल, मुख्यमन्त्री तथा मन्त्रीपरिषदका सचिव प्रदीप कँणेल, विषयगत मन्त्रालयका सचिव, कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, उच्च सुरक्षा अधिकारीहरू, सरकारी अधिकारीहरू, लगायतको उपस्थिति रहेको थियो ।
प्रजातन्त्र दिवसकै अवसरमा सोमबार बिहान धनगढीको पार्कचौकदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म बाँजागाँजा सहित र्‍यालीको आयोजना गरिएको थियो । र्‍यालीपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शहीदहरूको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
सो अवसरमा मुख्यमन्त्री भट्ट, सभामुख थापा, उपसभामुख बडाल, मन्त्री, सांसद, सरकारी उच्चाधिकारी, उच्च सुरक्षा अधिकारीले शहीदको तस्बिरमा माल्यार्पण गरेका थिए । त्यस्तै, मुख्यमन्त्री भट्टले झण्डोत्तोलन गरेका थिए ।
प्रजातन्त्र दिवसकै अवसरमा धनगढी उपमहानगरपालिकाले आमाको माया छात्रावासमा खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेको थियो ।
छात्रावासमा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित शिवपुरीधाममा श्रीमद्देवी भागवत महायज्ञमा राष्ट्र सेवक सम्मान कार्यक्रम आयोजना गरियो ।
कार्यक्रममा नेपाल प्रहरीका प्रदेश प्रमुख (एआइजीपी) माधवकुमार नेपाल, नेपाली सेनाका बाहिनीपति दीपक घले गुरुङ, सशस्त्र प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र शाक्य, संघीय प्रहरी इकाई कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेय, कैलालीका प्रहरी प्रमुख विनोद घिमिरे, कैलाली निर्माण व्यवसायी संघका अध्यक्ष प्रकाशबहादुर सेठी र सुदूरपश्चिम बस व्यवसायी समितिका अध्यक्ष श्याम सापकोटालाई सम्मान गरियो ।
सो अवसरमा शिवपुरी उत्तररामेश्वरम् धामका प्रमुख संरक्षक वह्मनिष्ठ स्वामी लोकानन्द महाराजबाट टीका ग्रहण गरी दोसल्ला र कदरपत्र ग्रहण गरेका थिए ।

फागुन ०८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार