६ कार्तिक २०८१, मंगलवार

को–को बन्दैछन् ? मन्त्री



धनगढी । प्रदेश नम्बर ७ मा मन्त्रीमण्डल विस्तारको प्रक्रिया शुरु भएसँगै मन्त्री बन्ने व्यक्तिबारे पनि चर्चा व्यापक भएको छ ।
एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा बढीमा नौ
सदस्य रहने जनाइएको छ । शुरुमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल बन्ने बताइएको छ ।
मन्त्रीमण्डलमा एमालेबाट वैकल्पिक केन्द्रीय सदस्य प्रकाशबहादुर शाह (बाजुरा), एमाले कैलालीका अध्यक्ष दीर्घबहादुर सोडारी, कञ्चनपुरका जिल्ला अध्यक्ष तारा लामा तामाङ तथा बैतडीका सांसद लीलाधर भट्टको चर्चा चलेको छ । भट्ट मन्त्री बन्न नसकेमा संसदीय दलको सचेतक बन्ने सम्भावना रहेको छ । एमालेबाट डोटीका सांसद पूर्णा जोशी मन्त्री बन्ने सम्भावना छ । तर एक जिल्ला एक पदको नीति लागू गरिने भएकोले जोशी छुट्ने सम्भावना रहेको पनि स्रोतले बतायो ।
त्यस्तै, माओवादीबाट विनिता चौधरी (कैलाली) र मानबहादुर धामी (दार्चुला) को चर्चा रहेको छ । माओवादीलाई आर्थिक मामिला तथा विकास मन्त्रालय भाग परेमा अछामका सांसद झपटबहादुर बोहराको बढी सम्भावना रहेको बताइएको छ ।
यसैबीच, प्रदेश नम्बर ७ को मन्त्रीमण्डल विस्तारका लागि
एमालेका उपाध्यक्ष भीमबहादुर रावल र माओवादी केन्द्रका सचिवालय सदस्य लेखराज भट्टबीच बिहीबार ‘वान टु वान’ छलफल भएको छ ।
बढीमा नौ सदस्यीय मन्त्रीमण्डल बनाउने तरखरमा रहेका दुवै दलका नेताले मन्त्री पदको बाँडफाँटबारे छलफल गरेको स्रोतले जनाएको छ ।

एमाले संसदीय दलको नेता चुनिँदै
नेकपा (एमाले)को प्रदेश सभा संसदीय दलको नेता चयनबारे छलफल अन्तिम चरणमा पुगेको छ ।
संसदीय दलको नेताका लागि वैकल्पिक केन्द्रीय सदस्य प्रकाशबहादुर शाह (बाजुरा), एमाले कैलालीका अध्यक्ष दीर्घबहादुर सोडारी, कञ्चनपुरका अध्यक्ष तारा लामा र डडेल्धुराका सांसद पठानसिंह बोहरा आकांक्षी रहेको बताइएको छ ।
चारै जना सांसद एमाले उपाध्यक्ष भीमबहादुर रावल निकट मानिन्छन् । निर्विरोधरूपमा संसदीय दलको नेता छान्ने अवस्था आए वैकल्पिक केन्द्रीय सदस्य शाहको बढी सम्भावना रहेको बताइएको छ । आज  हुने एमाले संसदीय दलको बैठकबाट दलको नेताका साथै प्रमुख सचेतक र सचेतक पनि छानिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार