७ कार्तिक २०८१, बुधबार

प्रदेश सरकार गठनबारे छलफल शुरु



धनगढी । मुलुकका अधिकांश प्रदेशमा मुख्यमन्त्री र मन्त्रीको चयन भइसक्दा ७ नम्बर प्रदेशमा बल्ल सरकार गठनको तयारी शुरु हुन थालेको छ ।
एमाले र माओवादी केन्द्रसहितको बाम गठबन्धनको बहुमत रहेको प्रदेश नम्बर ७ मा माओावादीको नेतृत्वमा सरकार गठन हुने दुई दलबीच सहमति भइसकेको छ ।
माओवादी केन्द्रको प्रदेश समितिले संसदीय दलको नेतामा डोटीको प्रदेश सभा सदस्य त्रिलोचन भट्टलाई सिफारिस गरिसकेको छ । तर, सरकार गठनमा भने ढिलाई भइरहेको छ ।
माओवादी केन्द्रका ७ नम्बर प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य लेखराज भट्टले सभामुख चयन लगायतका कामले केही ढिला भए पनि संविधानले दिएको समयसीमाभित्रै प्रदेश सरकार गठन हुने बताए ।
‘हाम्रो पार्टीले संसदीय दलको नेता चयन गरिसकेको छ, एमालेले पनि नेता छानेको भए सजिलो हुन्थ्यो’ उनले भने– ‘अब दुईवटै दलका सांसदको हस्ताक्षर संकलन गरेर समयसीमाभित्रै सरकार गठन गर्ने वातावरण बनाउँदै छौं ।’
७ नम्बर प्रदेशका प्रमुख सचिव लक्ष्मीराज पौडेलले संविधान अनुसार फागुन ५ गतेभित्र प्रदेश सरकार गठन भइसक्नु पर्ने बताए । संविधान अनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सरकार गठन गरिसक्नु पर्ने व्यवस्था छ ।
सरकार गठनका लागि संविधानले दुई वटा व्यवस्था गरेको छ । पहिलो बहुमत प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री चयन गर्ने व्यवस्था छ । त्यसका लागि संविधानको धारा १६८ को उपधारा १ आकर्षित हुन्छ ।
दोस्रो व्यवस्था भनेको दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेश सभा सदस्यलाई संविधानको धारा १६८ को उपधारा २ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । ७ नम्बर प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत नभएकोले एमाले र माओवादी मिलेर संयुक्त सरकार बनाउने भएका छन । एमाले २५ सांसद सहित ठूलो दल भए पनि केन्द्रको सहमति अनुसार १४ सदस्य रहेको माओवादीको नेतृत्वमा सात नम्बरको प्रदेश सरकार वन्ने तयारी भइरहेको छ ।
माओवादी नेता भट्टले नौ सदस्यीय सरकार बनाउने प्रयास भइरहेको बताए ।
संविधान अनुसार सात नम्बर प्रदेशमा ११ जनासम्मको मन्त्री मण्डल गठन गर्न सकिने छ । संविधानले संसदमा रहेका सदस्यको २० प्रतिशत भन्दा बढीलाई मन्त्री बनाउन नमिल्ने व्यवस्था गरेको छ । सात नम्बरको संसदमा ५३ जना सदस्य छन् ।
एमाले कैलालीका अध्यक्ष तथा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले पार्टीका केन्द्रीय उपाध्यक्ष तथा ७ नम्बर प्रदेश संयोजक भीमबहादुर रावल र माओवादी नेता भट्टवीच सरकार गठन बारे छलफल भइरहेको जानकारी दिए । उनले सम्भवत: आज (बुधबार) दुई दलका सांसदहरूको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुखलाई बुझाउने बताए ।
सात नम्बर प्रदेशमा एमाले र माओवादी केन्द्रबीच कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने छलफल पनि अझैं भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार