२७ पुष २०८१, शनिबार

निकुन्जमा पाटेबाघको गणना शुरु



कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ । निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो ।
बाघ गणनाका लागि ९० जना प्राविधिकको टोलीलाई खटाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए । ‘गणनाका लागि २ सय ६० जोर स्वचालित क्यामेरा जडान गरिएका छन्’, उनले भने, ‘निकुञ्ज भित्रका चार, जिल्ला वन कार्यालय अन्तर्गतका राष्ट्रिय वनका चार र डडेल्धुराको जोगबुढा चुरे क्षेत्रमा तीन ठाउँमा बाघ गणनाको कार्य हुनेछ ।’
गणना कार्य झण्डै बीस दिनसम्म चल्नेछ । सबै ठाउँमा एकै पटक बाघ गणनाको कार्य हुनेछ । यसका लागि ठाउँ–ठाउँमा प्राविधिकको टोली खटाइएको छ ।
डडेल्धुराको जोगबुढा क्षेत्रमा भने पहिलो पटक बाघ गणनाको कार्य हुन लागेको हो । बाघ गणनासँगै आहारा प्रजातिका रूपमा रहेका जनावरको समेत सँगसँगै गणनाको कार्य हुने बताइएको छ ।
गत वर्षको गणनामा निकुञ्जमा १७ वटा बाघ फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार