६ पुष २०८१, शनिबार

नदीजन्य सामग्री उत्खनन्का कारण खेतीयोग्य जमिनमा असर



बझाङ । बझाङ जिल्लामा नदीजन्य पदार्थ उत्खनन् गर्दा खेतीयोग्य जमिनमा असर परिरहेको छ । बझाङका सेती नदी र अन्य खोलाबाट अवैध ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्दा खेतीयोग्य जमिन नासिँदै गएको स्थानीयले बताएका छन् ।
जथाभावी नदीजन्य पदार्थ उत्खनन्का कारण खेतीयोग्य जमिन कटान हुनुका साथै नदी गहिरिँदै जाँदा सिँचाई सुविधासमेत प्रभावित भएको स्थानीय बासिन्दाको गुनासो छ । नदीजन्य पदार्थ उत्खनन सम्बन्धी कानुनी मापदण्ड नै पूरा नगरी ठेकेदार तथा तस्करले जथाभावी गिट्टी, बालुवा र ढुंगा उत्खनन् गर्दै आएका छन् ।
जिल्ला समन्वय समिति लगायतका निकायले पनि वातावरणीय अध्ययन नै नगरी ठेक्का पट्टामा नदीजन्य पदार्थ उत्खनन् गर्न दिएको स्थानीय धर्म रसाइलीले बताए । बाउली खोलामा भएका नदीजन्य पदार्थ उत्खनन् हुँदा देवल देउलाको सिँचाई कुलोमा पानी आउन छोडेको स्थानीय बासिन्दा वीरेन्द्र धामीले बताए । कुलोभन्दा तल बर्सेनि जथाभावी ढुङ्गा गिट्टी बालुवा निकाल्न थालेपछि सिँचाई कुलो प्रभावित भएको उनको भनाई छ ।
सदरमुकामसँग जोडिएको सेती नदी, बाहुली गाड, कालंगा लगायतका नदीमा अवैध उत्खनन् बढे पनि नियमनकारी स्थानीय निकाय मौन बसेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले कुनै चासो नदिादा अवैध उत्खनन् बढेको स्थानीयको आरोप छ । जिल्ला समन्वय समितिका पदाधिकारीले नै मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् भएको स्वीकारेका छन् ।
जिल्ला समन्वय समितिका निमित्त कार्यालय प्रमुख तथा प्राविधिक कार्यलयका इन्जीनियर जगतप्रसाद जोशीले जथाभावी नदीजन्य पदार्थ निकाल्दा ठूलो महामारी हुने डर भएको बताए । अब स्थानीय निकाय नगरपालिका तथा गाउँपालिकाले यसमा चाँसो दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार