२९ पुष २०८१, सोमबार

जनता आवास कार्यक्रम : कैलालीमा नौ हजार बढीको आवेदन



धनगढी । गरिब तथा विपन्न वर्गका लागि घर निर्माण गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रममा कैलालीमा नौ हजार बढी आवेदन परेका छन् ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय, धनगढीले आगामी आर्थिक वर्ष २०७५/०७६ लागि चार सय ५० घर निर्माण गर्ने लक्ष्य लिएको छ । सो अनुसार गत पुस १३ गतेदेखि निवेदन फाराम संकलन गर्ने कार्य शुरु भएकोमा हालसम्म नौ हजार एक सय ९४ आवेदन संकलन भएको डिभिजन कार्यालयले जनाएको छ ।
चार सय ५० घरधुरीमध्ये वादी, राउटे, राजी र गन्धर्वका लागि ५० तथा दलित समुदायका लागि चार सय घर निर्माण गर्ने लक्ष्य रहेको छ । दलित समुदायबाट नौ हजार एक सय नौ आवेदन परेका छन् भने वादी, राउटे, राजी र गन्धर्व समुदायबाट ८५ वटा निवेदन आएको सो कार्यालयले जनाएको छ ।
जनता आवास कार्यक्रमअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका तथा टीकापुर, लम्की, घोडाघोडी, भजनी र गोदावरी नगरपालिका तथा बर्दगोरिया र जानकी गाउँपालिकामा घर निर्माण गर्नका लागि आवेदन संकलन गरिएको जनाइएको छ ।
सो कार्यालयका अनुसार सबैभन्दा बढी कैलालीको धनगढी उपमहानगरपालिका र सबैभन्दा कम बर्दगोरिया गाउँपालिकाबाट आवेदन परेका छन् ।
धनगढी उपमहानगरपालिकामा ६० घर निर्माण गर्ने लक्ष्य रहेकोमा एक हजार तीन सय ६६ जनाको आवेदन परेको छ । बर्दगोरिया गाउँपालिकामा ४० घर निर्माण गर्ने लक्ष्य राखिएकोमा सात सय छ आवेदन परेको छ ।
कार्यक्रम अन्तर्गत टीकापुर, लम्की र गोदावरी नगरपालिकामा ६०/६०, भजनी र घोडाघोडी नगरपालिका तथा जानकी गाउँपालिकामा ४०/४० परिवारका लागि घर निर्माण गर्ने लक्ष्य रहेको डिभिजन कार्यालयले जनाएको छ ।
त्यस्तै, टीकापुर नगरपालिकाबाट एक हजार दुई सय ६६, लम्की नगरपालिकाबाट एक हजार दुई सय ६७, गोदावरी नगरपालिकाबाट एक हजार एक सय २८, भजनी नगरपालिकाबाट एक हजार दुई सय ६१ र घोडाघोडी नगरपालिबाट एक हजार एक सय ६६ आवेदन संकलन भएका छन् । जानकी गाउँपालिकाबाट नौ सय ५२ आवेदन आएको जनाइएको छ ।
शहरी विकास तथा भवन कार्यालयका ईन्जिनियर मोहनराज अवस्थीले लक्ष्यभन्दा बढी आवेदन परेकाले अहिले दर्ता गर्ने प्रक्रिया भइरहेको बताए । उनले आवेदन दिएका राष्ट्रिय सभा सदस्य निर्वाचनपछि आवेदनबारे स्थलगत अध्ययन गरिने बताए ।
आगामी वर्षका लागि कैलालीका चार सय ५० घरधुरी र कञ्चनपुरका चार सय ५० सूचीकृत समुदायलाई घर निर्माणका लागि बजेट विनियोजन हुने कार्यालयले जनाएको छ ।
गत वर्षसम्म एक घर निर्माणका लागि दुई लाख ५० हजार रुपैयाँका दरले रकम विनियोजन हुने गरेको भए पनि आगामी वर्षका लागि बजेट थप भएर आएको इन्जिनियर अवस्थीले बताए ।
जनता आवास कार्यक्रमका लागि फारम बुझाउने लक्षित समुदायको मूल्यांकनका आधारमा छनौटमा परेका परिवारहरू आवासीय कार्यक्रम जिल्ला समन्वय समितिबाट हुने अन्तिम निर्णय पश्चात मात्रै घर निर्माणका लागि प्रक्रिया सुरु हुने ईन्जिनियर अवस्थीले बताए ।
गत वर्ष सञ्चालन भएको कार्यक्रम अन्तर्गत निर्माण भइरहेका भवनको सोचे भन्दा राम्रो प्रतिफल हासिल भएको अवस्थीले जानकारी दिए । सो कार्यक्रम अन्तर्गत निर्माणाधिन सबै घर आगामी फागुनभित्र निर्माण सम्पन्न हुने इन्जिनियर अवस्थीले जानकारी दिए ।
यस्तै, कञ्चनपुको पुनर्वास, कृष्णपुर नगरपालिका, वेदकोट नगरपालिका, महाकाली नगरपालिका र भीमदत्त नगरपालिकाका चार सय ५० घरमा तीन लाख ३३ हजार प्रति घरका दरले बजेट निवियोजन भएको कार्यालयका इन्जिनियर अवस्थीले जानकारी दिए ।
गत वर्ष सञ्चालित कार्यक्रम मार्फत कञ्चनपुरका पाँच सय घर निर्माण कार्य अन्तिम चरणमा पुगेका उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार