२९ पुष २०८१, सोमबार

प्रदेश सभाको पहिलो बैठक : संसद सभाकक्षको तयारी अन्तिम चरणमा



धनगढी । आगामी २१ गते बस्ने प्रदेश नम्बर ७ को पहिलो प्रदेश सभा बैठकका लागि सभाकक्ष मर्मतसम्भार लगायतका कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपालमा पहिलो पटक प्रदेश सभा (संसद) बैठक बस्दै छ । प्रादेशिक संसद सभाकक्षमा सभामुख आसन र रोस्टम, प्रदेश सांसदहरूका लागि बस्ने कुर्सी, माइक, पत्रकार तथा दर्शक दीर्घा लगायतको तयारी तीब्र गतिमा भइरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, धनगढीले जनाएको छ ।
डिभिजन कार्यालयका इन्जिनियर मोहनराज अवस्थीले प्रदेश सभा बैठक बस्ने जिल्ला समन्वय समितिको सभाकक्षा र बाहिर सुरक्षा व्यवस्था बलियो बनाउन पर्खाल निर्माण पनि भइरहेको बताए । उनले संसद बैठकमा सांसदहरूलाई बोल्नका लागि सार्न मिल्ने खालको माइकको व्यवस्था गरिने बताए ।
प्रदेश संसद भवनको रंगरोगनका साथै बाहिर बगैचा समेत निर्माण भइरहेको छ ।
संसद भवनभित्र सभामुख तथा उपसभामुखको कार्यकक्ष निर्माण भइरहेको छ । त्यस्तै, विभिन्न दलका संसदीय दल र संसदीय दलका प्रमुखको कार्यकक्षको पनि मर्मत सम्भार भइरहेको । इन्जिनियर अवस्थीले कतिपय बैठक बस्ने दिनअघि नै सबै तयारी पुरा हुने बताए ।
प्रदेश नम्बर ७ का मुख्य सचिव लक्ष्मीराज पौडेलका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीको संसदीय दल कार्यालय तथा सभाकक्षका लागि जिल्ला समन्वय समिति, कैलालीको भवन अपुग भएमा नजिकै रहेको जिल्ला कृषि विकास कार्यालय, कैलालीको भवन समेत प्रयोग गरिने छ ।
कांग्रेस, माओवादी केन्द्र र राजपालाई जिल्ला समन्वय समितिभित्रै कार्यालय कक्ष पुग्ने भए पनि एमालेका लागि हल नपुग्ने भएकाले अन्यत्र व्यवस्था गर्नुपर्ने बताइएको छ । प्रदेश सभामा एमालेका २५ सदस्य रहेका छन् । त्यस्तै, कांग्रेसका १२, माओवादी केन्द्रका १४ र राजपाका दुई जना प्रदेश सांसद रहेका छन् ।
प्रदेश संसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरू, संसदीय दलका कार्यालयहरू सहितको मर्मत सम्भार र रंगरोगनका लागि सात करोड ५० लाख रुपैयाँ निकासा आएको प्रदेश मुख्य सचिव पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार