२९ पुष २०८१, सोमबार

प्रदेश राजधानीः प्रमुखको कार्यालय, आवास, संसद् भवनको टुङ्गो लाग्यो



धनगढी ।  प्रदेश नम्बर ७ को अस्थायी राजधानी तोकिएसँगै धनगढीमा प्रदेश प्रमुखको कार्यालय, आवास तथा प्रदेश संसद् भवनको टुङ्गो लगाइएको छ ।
सरकारले बुधवार प्रदेश प्रमुख तथा प्रदेशको अस्थायी राजधानी तोकेको थियो । अस्थायी राजधानी र प्रदेश प्रमुख तोकिएपछि क्षेत्रीय प्रशासक लक्ष्मीराज पौडेलको संयोजकत्वमा गठित समितिले आवश्यक भवनहरूको अध्ययन गरी टुङ्गो लगाएको जनाइएको छ ।
७ नम्बर प्रदेश प्रमुखको कार्यालय उत्तरबेहडीस्थित घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवनलाई तोकिएको छ । त्यस्तै, प्रदेश प्रमुखको आवास क्षेत्रीय वन निर्देशनालयको भवन तोकिएको छ । क्षेत्रीय बन निर्देशनालय रहेको क्षेत्र सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेकोले प्रदेश प्रमुखको आवास गृहका रूपमा बनाइएको क्षेत्रीय प्रशासक पौडेलले बताए ।
त्यस्तै, जिल्ला समन्वय समितिको बैठक हललाई प्रदेश सभा भवन बनाएको छ । क्षेत्रीय प्रशासक पौडेलले जिल्ला समन्वय समितिको सभाहल र छ वटा कोठा खाली गर्ने काम भइरहेको बताए । उनले शपथ ग्रहण र पहिलो बैठकका लागि कुनै अन्य ठाउँमा कार्यक्रम आयोजना गरिने बताए । शपथ ग्रहण आइतबार बिहान ११ बजे हुने छ ।
क्षेत्रीय प्रशासक पौडेलले मुख्यमन्त्रीको आवास गृह र सचिवालयको टुङ्गो दोस्रो चरणमा लगाइने बताए ।
उनले प्रदेश प्रमुखले शुक्रवार शपथ लिईसकेको र प्रदेश प्रमुख आफ्नो कार्यालयमा उपस्थित हुनुपर्ने भएकाले अहिले प्रदेश प्रमुखको कार्यालय, आवास गृह र सभाहलको टुङ्गो लगाइएको बताए ।
‘अहिले तोकिएका संरचनाहरू अस्थायी हुनेछन्’ क्षेत्रीय प्रशासक पौडेलले भने– भोलि प्रदेश सरकार गठन भएपछि यी कार्यालयहरू फेरबदल हुनसक्छन् ।
टोलीले मुख्यमन्त्रीको कार्यालय, आवास गृह, संसद् सचिवालका लागि पनि भवनहरूको अध्ययन भइसकेको जनाएको छ । मुख्यमन्त्रीको कार्यालय, आवासगृह, संसद् सचिवालय तथा अन्य मन्त्रालय र विभागका लागि क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, जिल्ला कृषि विकास कार्यालय, जिल्ला सिंचाई कार्यालय लगायतका सरकारी भवनको अध्ययन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार