६ कार्तिक २०८१, मंगलवार

सार्वजनिक सेवा प्रवाह : सेवाग्राही भन्छन्– सेवा प्रवाह प्रभावकारी भएन



धनगढी । कैलाली जिल्ला प्रशासन कार्यालय तथा धनगढी उपमहानगरपालिका कार्यालयमा सार्वजनिक सेवा प्रवाह प्रभावकारी नभएको एक अध्ययनले देखाएको छ ।
ट्रान्सपरेन्सी ईन्टरनेसनल, नेपालसंग आवद्ध ‘सदाचारका लागि सामाजिक पहल’ नामक संस्थाले गरेको एक सर्वेक्षण प्रतिवेदनले स्थानीय प्रशासन तथा उपमहानगरपालिका कार्यालयमा अझैं पनि सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुननसकेको देखाएको छ ।
सो संस्थाले धनगढी उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्दै सार्वजनिक सेवाको प्रभावकारिताबो अध्ययन गरेको जनाएको छ । अध्ययनमा जिल्ला प्रशासन र उपमहानगरपालिकामा सेवा लिन आउने ६० जना सेवाग्राहीका धारणालाई समेटिएको छ ।
अध्ययनका क्रममा करिब ४० प्रतिशत सेवाग्राहीले मात्रै ती दुवै कार्यालयको सेवा प्रवाहमा केही सुधार आएको बताएका छन् । १३ वटा विषयगत प्रश्नावली राखेर सो सर्वेक्षण गरिएको अध्ययनकर्ता मनिष रिजालले बताए ।
त्यस्तै, २८ प्रतिशत सेवाग्राहीले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गरेका छन् भने ३२ प्रतिशतले सेवाग्राहीले मात्र सेवा प्रवाह प्रभावकारी रहेको बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनमा अझै पनि सरकारी=सार्वजनिक कार्यालयले गर्ने सार्वजनिक सुनुवाई कार्यक्रम प्रभावकारी नभएको देखाएको छ । अध्ययन प्रश्नावलीमा सोधिएको ‘कार्यालयले सेवाग्राहीको धारणा बुझ्ने तथा सार्वजनिक सुनुवाई गर्ने कार्य गरेको छ ?’ भन्ने प्रश्नमा ३५ प्रतिशत सेवाग्राहीले ‘छैन’ भन्ने उत्तर दिएका छन् ।
त्यस्तै, कार्यालयद्वारा लिइएका निर्णयहरू सार्वजनिक गरेर सरोकारवालालाई जानकारी गराइएको छ ? भन्ने प्रश्नमा ४० प्रतिशत सेवाग्राहीले ‘जानकारी दिने गरिएको छैन’ भन्ने उत्तर दिएका छन् । त्यस्तै, कार्यालयबाट नागरिकले सहजै सूचना पाउन सक्छन् ? भन्ने प्रश्नमा ‘छैन’ भन्ने सेवाग्राहीको संख्या ३३ प्रतिशत रहेको छ ।
त्यस्तै, २० प्रतिशत सेवाग्राहीले धनगढी उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयबाट गुनासो सम्बोधन हुननसकेको धारणा व्यक्त गरेका छन् ।
ती कार्यालयमा सार्वजनिक खरिद बिक्री कार्यमा आर्थिक ऐन नियमलाई मिच्ने गरिएको अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदनले भन्छ– ३२ प्रतिशत सेवाग्राहीको अनुभवमा सार्वजनिक खरीद, बिक्रीमा आर्थिक ऐन र नियम अनुसारको प्रक्रिया अवलम्बन गरिँदैन ।
अध्ययन प्रतिवेदनले सार्वजनिक सेवा प्रवाहलाई थप सरलीकरण गरि छिटो छरितो र सहज बनाउनुपर्ने, नागरिक वडापत्र अनुसार सरकारी कर्मचारीहरूले सेवा दिने बानी बसाल्नुपर्ने, सेवा प्रवाहका बारेमा सार्वजनिक सूचनामार्फत सेवाग्राहीलाई सूचना दिनुपर्ने, सरकारी कार्यालयमा भएका निर्णयहरू सरोकारवालामार्फत सार्वजनिक गर्नुपर्ने सुझाव दिएको छ ।
त्यस्तै, उपहार, दानदातव्य लिने कार्यालय तथा कर्मचारीलाई निरुत्साहित गर्नुपर्ने, गुनासो सुन्ने अधिकारी तोक्ने र सुनुवाईको स्पष्ट व्यवस्था गर्नुपर्ने, सोधपुछ कक्ष व्यवस्थित गर्नुपर्ने, अनुगमन कार्य प्रभावकारी, सेवाग्राहीले सहज सूचना पाउने व्यवस्था, सार्वजनिक खरिद ऐन थप प्रभावकारी बनाई कार्यान्वयन गर्ने गराउने र कर्मचारी विवरण सार्वजनिक सूचना मार्फत जानकारी दिनुपर्ने पनि सुझाव दिइएको छ
बिहीबार धनगढीमा आयोजित प्रतिवेदन सार्वजनिक समारोहमा अध्ययनकर्ता रिजालले सरकारी निकाय तथा अधिकारीहरूले सदाचार प्रतिवद्धतापत्रलाई कागजी रुपमा मात्र नलिएर व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए ।
सो अवसरमा सांसद नारदमुनि रानाले भ्रष्टाचार न्यूनिकरण गर्न सबै पक्षले व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताए । सांसद रानाले सरकारी कार्यालयका साथै सामुदायिक विद्यालयमा पनि नागरिक निगरानी आवश्यक रहेको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले जनप्रतिनिधि, सरकारी कर्मचारी तथा अन्य पक्षले आफ्नो दायित्वप्रति सजग नभएसम्म भ्रष्टाचार न्यूनिकरण गर्न चुनौति रहेको बताए । नगर प्रमुख वडले आफू धनगढी उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीलाई सरल, सहज, छिटो छरितो ढंगले सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताए ।
कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद जोशीले सेवाग्राहीले आवश्यक कागजी प्रक्रिया पुरा नगर्ने तर छिटो सेवा खोज्ने मानसिकताका कारण पनि सरकारी कार्यालयहरूको सेवा प्रवाहमा प्रश्न उठ्ने गरेको बताए । ‘सेवाग्राहीले नागरिक वडापत्र समेत हेर्दैनन्, आवश्यक कागजपत्र पनि ल्याउँदैनन्’ उनले भने– आवश्यक कागजपत्र नभएपछि सेवा प्रवाहमा ढिलाई हुन्छ नै । सहायक प्रमुख जिल्ला अधिकारी जोशीले पाँच प्रतिशत सेवाग्राहीले मात्र नागरिक वडापत्र पढेर सो अनुरुपको प्रक्रिया अपनाउने गरेको बताए । उनले सरकारी कार्यालयहरूको सेवा प्रवाहमा सुधार हुँदै गए पनि पूर्ण सन्तुष्टीको अवस्था नरहेको बताए । ‘हामी सेवाग्राहीलाई सन्तुष्ट बनाउन सक्दो प्रयास गरिरहेका छौं’ उनले भने ।
संस्थाका अध्यक्ष डाक्टर पदमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका उपाध्यक्ष राम दयाल (राकेश), सदाचारका लागि सामाजिक पहलका पुर्व अध्यक्ष खेमराज पाण्डेय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष उमाकान्त जोशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बासुदेव बिष्टले गरेका थिए ।
कार्यक्रममा विषयगत कार्यालयका प्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधी, विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

माघ ०५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार