८ कार्तिक २०८१, बिहीबार

खप्तड गोल्डकप : त्रिभूवन आर्मी फाइनलमा प्रवेश



धनगढी । आक्रमक खेल प्रदर्शन गर्दै त्रिभूवन आर्मी क्लव धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै आर्मी क्लव फाइनलमा प्रवेश गर्‍यो ।
दर्शकले खचाखच भरिएको धनगढी क्षेत्रीय रंगशालामा शनिबारको सेमिफाइनल खेलमा आर्मी क्लवका कप्तान भरत खवास, नवयुग श्रेष्ठ र सन्तोष तामाङको गोल गरेका थिए । मनाङमस्र्याङ्दीका हेमन गुरुङले एक गोल गरेका थिए ।
खेलमा शुरुमा मनाङमस्र्याङ्दी क्लवले आक्रामक खेल प्रस्तुत गरेको थियो । खेलको नवौं मिनेटमा हेमनले गोल गरेर मनाङमस्र्याङ्दीलाई एक गोलको अग्रता दिलाए । तर, मनाङमस्र्याङ्दीको अग्रता धेरै समयसम्म टिक्न सकेन । खेलको २३ औं मिनेटमा आर्मी क्लवका भरतले गोल गरेर खेल बराबरीमा ल्याए । ४५ औं मिनेटमा नवयुगले गोल गर्दै टीमलाई २–१ को अग्रता दिए ।
दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे । खेलको म्यान अफ दि म्याच आर्मी क्लवका नवयुग घोषित भए ।
उपाधी नजिक पुगेको आर्मीले फाइनलमा आज (आइतबार) हुने सुदूरपश्चिम–११ र एपीएफबीच हुने खेलको विजेतासँग खेल्ने छ ।
पुस २१ गतेबाट शुरु भएको प्रतियोगिता माघ १ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा नेपाल तथा भूटानका ‘ए’ डिभिजनका विभिन्न १२ क्लवको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार