८ कार्तिक २०८१, बिहीबार

वर्षाको कामना गर्दै पूजापाठ



बैतडी । लामो समयदेखि खडेरी परेपछि बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ का किसानले बाजागाजासहित पानीको माग गर्दै रौलाकेदार मन्दिरमा बुधबारदेखि जाग्राम तथा पूजाआजा थालेका छन् ।
पानीको माग गर्दै उनीहरू रौलाकेदार मन्दिरमा जाग्राम बसेको सुरेन्द्रबहादुर महराले बताए ।
बुधबार रातभर रौलाकेदार मन्दिरमा जाग्राम बसिएको र बिहीबार बिहान प्रार्थना कार्यक्रम गरिएको उनले बताए । ‘योभन्दा पहिले पनि खडेरी पर्दा रौलाकेदार मन्दिरमा जाग्राम तथा पूजाआजा गरेपछि पानी परेकाले मन्दिरमा धाएका हौँ,’ उनले भने ।
लामो समयदेखि खडेरी परेका कारण रौलाकेदारमा जाग्राम बसेमा पानी पर्ने जनविश्वास रहिआएको छ । समयमा पानी नपरेका कारण यो वर्ष हिउँदे बालीको उत्पादनमा कमी आउने देखिएको छ । हिउँद महिना सुरु भएसँगै पानी नपर्दा बैतडीका केही ठाउँमा अझै गहुँ छर्न बाँकी रहेको छ भने गहुँ छरेको ठाउँमा सुक्न थालेका छन् ।
यसअघि गत वर्ष पनि लामो समयसम्म खडेरी परेपछि पानी माग गर्दै बैतडीको सुर्नयाका स्थानीय बासिन्दाले प्रसिद्ध रौलाकेदार र दशरथचन्द नगरपालिका–१ देवलहाटमा रहेको पञ्चदेवलमा शिव भगवानको पूजाआजा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार