६ कार्तिक २०८१, मंगलवार

छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता



बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन थालेको छ ।
नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप चार सय रुपैयाँ दिँदै आएकोमा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन थालेको हो ।
छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।
छोरी जन्मिदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको स्थानीय कुती भुल बताउँछिन् । ‘श्रीकोट स्वास्थ्य चौकीमा मेरो छोरी जन्मिदा थप एक हजार मिल्यो,’ उनले भनिन–गाउँपालिकाले गरेको यो कार्य निकै राम्रो लाग्यो ।
गाउँपालिकाले गरेको यो कार्यले स्वास्थ्य संस्थामा आएर बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यलाई पनि खतरा नहुने श्रीकोट स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी प्रमुख अहेब प्रेमबहादुर चन्द बताउँछन् ।
छोरी जन्मिदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार