६ कार्तिक २०८१, मंगलवार

मालपोतका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



धनगढी । सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराउने मालपोत कार्यालय, टीकापुरका तीन जना कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, टीकापुरका तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख नायब सुब्बा लोकबहादुर रावल, नायब सुब्बा मोहनबहादुर रसाईली र खरिदार जग्गेप्रसाद उपाध्यायविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको जनाइएको छ ।
आयोगका सहन्यायाधिवक्ता एवं प्रवक्ता पदमप्रसाद पाण्डेयद्वारा जारी विज्ञप्तिमा ‘उनीहरूले टीकापुर नगरपालिका वडा नम्बर ५ का रामजी शाहसंग मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्तास्रेस्ता कायम गरेकोबारे परेको उजुरीका आधारमा मुद्दा दायर गरिएको’ जनाएको छ ।
सो उजुरी निवेदनमा अनुसन्धान हुँदा तीनै जना कर्मचारीसंगको मिलेमतोमा सार्वजनिक जग्गा रामजीका नाममा दर्ता गरी जग्गाधनी प्रमाणपुर्जा समेत प्राप्त भएको देखिन आएकोले उनीहरू तीनै जना कर्मचारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिम कसूर गरेको देखिन आएको विज्ञप्तिमा उल्लेख छ ।
आयोगको विज्ञप्तिमा भनिएको छ– सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरी लिने रामजी शाहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम कसूर गरेको देखिन आएकाले निजलाई सोही ऐनको दफा ८ को उपदफा (१) को आधारमा २२ बमोजिम सजाय हुन मागदाबी सहित आज (बुधबार) विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
भ्रष्टाचार निवारण ऐनको व्यवस्थाअनुसार सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्तास्रेस्ता तयार गरेको अभियोग प्रमाणित भएमा तीन महिनादेखि तीन वर्ष कैद र दश हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार