२८ पुष २०८१, आईतवार

पूर्वराजाले गरे शिवपुरधामको दर्शन



धनगढी । पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढीस्थित शिवपुरीधाम उत्तरामेश्वर ज्योर्तिलिङको दर्शन गरेका छन् ।
बुधबार धनगढी पुगेका पूर्वराजा शाहले धामभित्र रहेको ज्योर्तिलिङ, भगवती मन्दिर र शिवमन्दिर परिक्रमा गरि पूजापाठ गरेका हुन् ।
झण्डै १२ बजेर ४५ मिनेटमा धाममा पुगेका पूर्वराजाले एक घण्टा मन्दिरमा पूजाआजा गरेका थिए ।
उनको भ्रमणका क्रममा सुरक्षाकर्मीहरुले कडा सुरक्षा व्यवस्था मिलाएका थिए । उनको स्वागतका लागि कैंया चौधरीको संयोजकत्वमा गठन गरिएको एक सय एक स्वागत समितिले धामको ३० मिटर बाहिरदेखि मन्दिरसम्मै फुलमाला सहित स्वागत गरेका थिए ।
पूजाआजा पश्चात सञ्चारकर्मीसंग एक मिनेटको कुराकानीमा पूर्वराजा शाहले धेरै पछि जनता माझ आउँदा खुशी लागेको बताए । उनले शिवपुरीधामको कार्यसमितिले आफुलाई दर्शनका लागि बोलाएकोमा पनि धन्यवाद व्यक्त गरे । ७ नम्बर प्रदेश अर्थात सुदूरपश्चिमको धार्मीक स्थलको दर्शनमा निस्किएका पूर्वराजाले आफु धार्मीक स्थलको दर्शन गर्न आएको र देशको वर्तमान राजनीतिक विषयमा कुनै टिकटिप्पणी नगर्ने बताए ।
राजतन्त्रप्रति सहानुभुति राख्नेहरुले ‘राजा आउँ, देश बचाउँ’ भन्ने नारावाजी गरेका थिए । पूर्वराजालाई शिवपुरीधामले सम्मानपत्र सहित सम्मान गरेको थियो ।
पूर्वराजा आजनै नेपालगञ्ज फर्कने कार्यक्रम रहेको छ । आज नेपालगञ्जको होटलमा रात विताउने र भोलि (बिहीबार) हेलिकोप्टरबाट सुदूरपश्चिमको डोटी, डडेल्धुरा र बैतडीको धार्मीक स्थलको दर्शन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार