२५ जेष्ठ २०८३, सोमबार

कांग्रेसका नयाँ मन्त्रीले लिए सपथ, एमालेभित्र मन्त्री हेरफेर विवाद चर्कियो



धनगढी / सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसबाट नियुक्त नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले मन्त्रीहरूलाई तथा मुख्यमन्त्री कमलबहादुर शाहले राज्यमन्त्रीहरूलाई सपथ गराएका हुन्।

कांग्रेसले सरकारमा रहेका आफ्ना पुराना मन्त्री तथा राज्यमन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री, मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री तथा बेलबहादुर रानामगर सामाजिक विकास मन्त्री बनेका छन्।

यस्तै, जुना दानी भौतिक पूर्वाधार विकास राज्यमन्त्री र मधु भारती सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन्।

दार्चुलाबाट प्रदेशसभा सदस्य निर्वाचित धामी लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। अछामबाट निर्वाचित रावल पूर्व प्रहरी अधिकृत हुन् भने कञ्चनपुरका रानामगर पनि पुराना राजनीतिक कार्यकर्ताका रूपमा परिचित छन्।

कांग्रेसले यसअघि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट तथा राज्यमन्त्री सरस्वती खड्का र प्रकाशबहादुर बमलाई सरकारबाट फिर्ता बोलाएको थियो।

सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाह, पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थिति रहेको थियो।

एमालेको मन्त्री हेरफेर रोकिएपछि असन्तुष्टि
उता, सत्तारुढ नेकपा (एमाले) भित्र मन्त्री हेरफेरको विषयलाई लिएर विवाद चर्किएको छ। मन्त्री परिवर्तनको तयारी अन्तिम चरणमा पुगेपछि नेतृत्वले निर्णय फिर्ता लिएसँगै असन्तुष्ट कार्यकर्ताले प्रदेश संसदीय दलको कार्यालयमा तोडफोडको प्रयास गरेका छन्।

स्रोतका अनुसार एमालेले बहालवाला मन्त्री सुरेन्द्र पाल, हिरासिंह सार्की, वीरबहादुर थापा तथा राज्यमन्त्री निर्मला साउँदलाई फिर्ता बोलाएर उनीहरूको स्थानमा सन्तोष शर्मा थापा, दमन भण्डारी, चक्र मल्ल र जानकी ऐर बमलाई जिम्मेवारी दिने तयारी गरेको थियो।

तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोली फेरिएर पछिल्लो निर्देशन दिएपछि मन्त्री हेरफेरको निर्णय रोकिएको बताइएको छ। निर्णय स्थगित भएपछि आक्रोशित कार्यकर्ताले संसदीय दलका नेता राजेन्द्रसिंह रावलविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले दलको कार्यालयमा रहेको नामपट्टिकामा क्षति पुर्‍याउनुका साथै प्रदेश कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।

मन्त्री हेरफेरको विषयले कांग्रेसले सरकारमा नयाँ अनुहार पठाएका बेला एमालेभित्र भने आन्तरिक असन्तुष्टि सतहमा आएको देखिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार