ओलीको त्यो फोन जसले गर्दा निर्णय भएर पनि सपथ खान पाएनन्
धनगढी / नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा सोमबार तनाव उत्पन्न भएको छ । मन्त्री परिवर्तनको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णय फेरिएपछि आक्रोशित कार्यकर्ताले संसदीय दलको कार्यालयमा तोडफोड गर्ने प्रयास गरेका हुन् ।
स्रोतका अनुसार आइतबार अध्यक्ष ओलीले प्रदेश सरकारमा रहेका बहालवाला मन्त्रीलाई हटाएर नयाँ अनुहारलाई अवसर दिन निर्देशन दिएका थिए । सोहीअनुसार नयाँ मन्त्रीहरूको नाम टुंगो लगाएर निर्णय प्रक्रिया अगाडि बढाइएको थियो । निर्णयको कम्प्युटर टाइप गरेर माइनटमा टाँस्ने तयारी भइरहेका बेला अध्यक्ष ओलीले पुनः दलका नेता राजेन्द्रसिंह रावललाई फोन गेर तत्काल मन्त्री हेरफेर नगर्न निर्देशन दिएका थिए ।
ओलीको पछिल्लो निर्देशनपछि असन्तुष्ट बनेका केही कार्यकर्ताले संसदीय दलको कार्यालय पुगेर विरोध जनाएका थिए । सो क्रममा कार्यालयमा तोडफोड गर्ने प्रयास भए पनि प्रदेशसभा सदस्यहरूको सक्रियताले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ । यद्यपि संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नामप्लेट भने तोडफोड गरिएको छ ।
यसअघि अध्यक्ष ओलीले बहालवाला मन्त्री सुरेन्द्र पाल, वीरबहादुर थापा, हिरासिंह सार्की तथा राज्यमन्त्री निर्मला देवी साउदलाई फिर्ता बोलाएर उनीहरूको स्थानमा सन्तोष शर्मा थापा, दमन भण्डारी र चक्र मल्ललाई मन्त्री तथा जानकी ऐर बमलाई राज्यमन्त्री बनाउन भनेका थिए । उनीहरुले आज सपथग्रहण गर्ने भएका थिए ।
कांग्रेसले भने पुराना मन्त्री परिवर्तन गरेर नयाँलाई सपथग्रहण गराउन थालेको छ ।




