२४ जेष्ठ २०८३, आइतबार

ओलीको निर्देशनपछि सुदूरपश्चिममा एमालेका मन्त्री फेरिने



धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट सहभागी मन्त्रीहरू परिवर्तन हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि नयाँ मन्त्रीहरूको नाम टुंगो लागेको स्रोतले जनाएको छ ।

एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालयमा सन्तोष शर्मा थापा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा चक्रबहादुर मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दमन भण्डारीलाई पठाउने गरेर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्र पठाएको छ । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जानकी ऐर वमलाई जिम्मेवारी दिने चर्चा छ ।

दलका नेता राजेन्द्रसिंह रावलले सोमबार दलको बैठक बोलाएका छन् । सो बैठकमा उनले केन्द्रको निर्देशन अनुसार मन्त्री परिवर्तनको सिफारिस मुख्यमन्त्रीलाई पठाइएको जानकारी दिने जनाइएको छ ।

नेपाली कांग्रेसले पनि मुख्यमन्त्री कमलबहादुर शाहबाहेकका मन्त्री र राज्यमन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरिसकेको छ । तर मन्त्री चयनमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन ।

कांग्रेसभित्र पनि मुख्यमन्त्री शाहलाई दलको नेताबाट हटाउने प्रयास भएको थियो । तर अन्ततः शाहलाई यथावत् राख्दै मन्त्री तथा राज्यमन्त्री परिवर्तन गर्ने सहमति भएपछि विवाद साम्य भएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार